Bagmati Samachar Logo

काठमाडौं महानगरद्वारा २५ अर्ब ७६ करोडको बजेट सार्वजनिक

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार राष्ट्रिय सभागृहमा बसेको नगरसभा बैठकमा उपमेयर सुनिता डंगोलले बजेट पेस गरेकी हुन् । बजेटमध्ये ५१ प्रतिशत पूर्वाधार विकासमा, २० प्रतिशत शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा र बाँकी अन्य क्षेत्रमा विनियोजन गरिएको छ ।

यसअघि नगरसभाको प्रारम्भमा मेयर बालेन शाहले नीति तथा कार्यक्रम पेस गरेका थिए । उक्त कार्यक्रम पारित भएपछि उपमेयर डंगोलले बजेट प्रस्तुत गरेकी हुन् । तर, यस वर्ष महानगरको बजेट समयमै आउन सकेन । काठमाडौं टावरको नक्सा पास विवादपछि करिब ६ महिनासम्म मेयर बालेनले कार्यपालिका बैठक नै नबोलाएले बजेट प्रक्रियामा ढिलाइ भएको हो ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले काठमाडौं टावरको नक्सा स्वीकृत गरेपछि मेयर बालेनले उनी उपस्थित रहेको कार्यपालिका बैठक नराख्ने अडान लिएका थिए । यसले कार्यपालिका र मेयरबीचको विवादलाई झन चर्कायो । स्थानीय सरकार सञ्चालन ऐनअनुसार प्रत्येक वर्ष १० असारभित्र बजेट ल्याइसक्नुपर्ने प्रावधान छ । तर, यस वर्ष उक्त समयसीमा नाघेर २९ असारमा मात्र बजेट प्रस्तुत भएको हो ।

बजेट ल्याउनका लागि उपमेयर डंगोल र तीन जना वडाध्यक्षले मेयर बालेनसँग पटक–पटक छलफल गरेका थिए । अन्ततः शुक्रबार कार्यपालिका बैठक बसेपछि आइतबार बजेट नगरसभामा प्रस्तुत गरिएको हो ।