स्थानीय तह उपनिर्वाचनमा आफैले पहिला जितेका वडापनि गुमायो माओवादीले

काठमाडौं । स्थानीय तहको उपनिर्वाचनको प्रारम्भिक नतिजा अनुसार नेकपा माओवादी केन्द्रले यसअघि जितेका ४ वटा वडा नै जोगाउन सकेन ।
यो समाचार तयार पार्दासम्म ६ वटा वडाको अन्तिम परिणाम प्राप्त भएको छ। जसमध्ये यसअघि माओवादीले जितेका ४ वटा वडा छन्।
ती चारै वटा वडा उपनिर्वाचनमा माओवादीले वडाअध्यक्ष गुमाएको छ। जसमा नेपाली कांग्रेसले तीन वटा र नेमकिपाले एउटा वडा खोसेको छ।
यसअघि नेकपा माओवादीले जितेको कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर ४, जाजरकोटको कुशे गाउँपालिका ७, रुकुम (पश्चिम) को सानीभेरी ५ र दार्चुलाको दुहुँ गाउँपालिका ५ गुमाएको हो।
कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार खड्कबहादुर शाही विजयी भएका छन्। उनी १४३ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी नैसोभा शाहीले ११५ मत प्राप्त गरिन्।
जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर ७ मा नेपाली काँग्रेसका खम्बबहादुर सिंह विजयी भएका छन्। नेकपा माओवादी केन्द्रका गोरखबहादुर नेपालीलाई १५ मतले पराजित गर्दै सिंह विजयी भएका हुन्।
विजयी सिंहले ३४७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका गोरखबहादुर नेपालीले ३३२ मत प्राप्त गरे।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका मोतीराम खत्री ५९० मत ल्याएर विजयी भएका निर्वाचन कार्यालय रुकुम पश्चिमले जनाएको छ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जसीराम बस्नेतले ५३७ मत ल्याए।
दार्चुलाको दुहुँ गाउँपालिका–५ को अध्यक्षमा नेपाली कांग्रेसका धनसिंह कुँवर विजयी भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुँवर ३ सय ७६ मतका साथ अध्यक्षमा निर्वाचित भएका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मानसिंह बडालले ३ सय ५८ मत प्राप्त गरे। कांग्रेसका कुँवरले १८ मतान्तरले जित हासिल गरेका हुन्।
नेकपा माओवादी केन्द्रका वीरसिंह कार्कीले ९८ मत र स्वतन्त्र उम्मेदवार लालबहादुर कुँवरले २५ मत प्राप्त गरे। यहाँ ८ सय ७७ मत खसेका थिए।
विगतको चुनावभन्दा नेकपा माओवादी केन्द्रको यो उपचुनावमा मत घटेको छ भने तेस्रो स्थानमा पनि झरेको छ।
०७९ को स्थानीय तह चुनावमा माओवादीबाट निर्वाचित अध्यक्ष मनोरथ भट्टको ०८० असार ११ मा निधन भएको थियो।
यसअघि नेकपा माओवादी केन्द्रले जितेका हेटौँडाको उपमहानगरपालिका १२, महोत्तरीको रामगोपालपुर वडा नम्बर २ को नतिजा आउन भने बाँकी छ।
प्रतिक्रिया दिनुहोस्: