टान निर्वाचन : अध्यक्षमा माओवादी निकट सागर पाण्डे निर्वाचित
काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे विजयी भएका छन् ।
कांग्रेस एमाले गठबन्धनका साझा उम्मेदवार राजेन्द्र सापकोटालाई पराजित गर्दै पाण्डे अध्यक्षमा विजयी भएका हुन्। पाण्डे माओवादी केन्द्र निकट मानिन्छन्। पाण्डेलाई माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी र स्वतन्त्र व्यवसायीको साथ थियो।
पाण्डेले ५८० मत ल्याएर विजयी भएका छन् । सापकोटाले ४८० मत प्राप्त गरे ।
यस्तै महसचिवममा पाण्डे समुहकै सोनाम ग्यल्जेन शेर्पा ५५० मत ल्याएर विजयी भएका छन् । उनले सापकोटा समूहका राजेन्द्र प्रसाद सुबेदीलाई पराजित गरेका हुन् ।
वरिष्ठ उपाध्यक्षमा पाण्डे समूहका चोलेन्द्र कार्कीलाई पराजित गर्दै कर्मा शेर्पा ५५८ मतका साथ विजयी भएका छन् भने प्रथम उपाध्यक्षमा सापकोटा समूहका विष्णुप्रसाद लम्साल ५३५ मतका साथ र द्वितीय उपाध्यक्षमा सनम शेर्पा ५४४ मत ल्याएर विजयी भएका छन् ।
त्यस्तै सचिव पदमा रिञ्जी जाङबु शेर्पा ५९१ मत , कोषाध्यक्षमा गौतम राज वाग्ले ५८३ मत र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भए ।
सदस्यहरूमा पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होम बहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे) निर्वाचित भएका छन् ।
यही भदौ १७ गतेदेखि सुरु भएको टानको साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो। निर्वाचनमा दुई वटा प्यानलबीच प्रतिस्पर्धा भएको थियो।

प्रतिक्रिया दिनुहोस्: