वनमन्त्री भइसक्दा भौतिकबाट मनाङेको राजीनामा
काठमाडौं । गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्री बनाएकोमा असन्तुष्टि जनाउँदै स्वतन्त्र सांसद राजीव गुरूङ (दीपक मनाङे)ले राजीनामा दिए । मनाङेले पुरानै मन्त्रालयको लेटरहेड प्रयोग गरेर राजीनामा दिएका छन् । उनले राजीनामा दिएको र मन्त्री भएको मन्त्रालय नै फरक छ ।
भौतिक पूर्वाधारमन्त्री अरू नै नियुक्त भएर पदभार ग्रहण गरिसकेको अवस्थामा उनले भने त्यहि मन्त्रालयको लेटरहेड प्रयोग गरेका छन् ।
पहिला मनाङे कतिबेलासम्म भौतिक पूर्वाधार मन्त्री थिए भन्ने बुझौँ । कांग्रेस र एमालेबीच मन्त्रालय बाँडफाँटको टुंगो लागेपछि उनको मन्त्रालय फेरिने पक्का भएको थियो । सोमबार दिउँसो साढे एक बजे नेपाल पर्यटन बोर्डमा शपथको तयारी थियो । त्योभन्दा एक घण्टाअघि प्रदेश प्रमुखको कार्यालयले को कुन मन्त्री बन्ने भन्ने जानकारी पाएको थियो । त्यसमा मन्त्रालय हेरफेर भएर एमालेका प्रकाशबहादुर केसीलाई मन्त्री बनाउन मुख्यमन्त्रीले प्रदेश प्रमुखको कार्यालयलाई सिफारिस गरेका थिए ।
मनाङेलाई वन तथा वातावरण मन्त्रालयको जिम्मा दिइएको थियो । मन्त्रीको शपथ समारोह हुनुअघिसम्म अर्थात् दिउँसो २ बजेसम्म मनाङे भौतिक मन्त्री थिए । त्यहाँ प्रदेश प्रमुखको कार्यालयका कर्मचारीले मन्त्रीको जिम्मेवारी हेरफेर र मन्त्रालयगत जिम्मा सुनाए । त्यहाँ आफ्नो मन्त्रालय खोसिएको मनाङेले थाहा पाए ।
शपथ ग्रहण समारोह सकिनेबित्तिकै नवनियुक्त मन्त्रीलाई बधाई दिने कार्यक्रम सुरू भयो । त्यहाँ एक जना शुभेच्छुकले मनाङेलाई बधाई दिए । त्यसपछि मनाङे रिसाए । उनले ‘यस्तो मन्त्रालय जुनियरले लिने हो’ भन्दै निस्किए । त्यसपछि सिधै ५० मिटर टाढाको सरकारी निवास गएर राजीनामा लेखे । जब उनले राजीनामा पत्र लेखिरहेका थिए ९दिउँसो ३ बजे आसपास० त्यतिबेला एमालेका प्रकाश केसी भौतिक मन्त्रीको शपथ लिइसकेका थिए ।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार नरहरी सापकोटाकाअनुसार राजीनामा ५ बजेतिर मुख्यमन्त्रीलाई बुझाइएको थियो । तर, त्यतिबेला मनाङे भौतिक पूर्वाधार होइन, वनमन्त्री भइसकेका थिए । मनाङेको राजीनामा मुख्यमन्त्रीको हातमा पुग्दासम्म यता एमालेका प्रकाशले मन्त्रीको पदभार सम्हालिसकेका थिए ।
राजीनामा बुझाउनेबित्तिकै मुख्यमन्त्रीले त्यसलाई स्वीकृत गरेर उक्त मन्त्रालय आफू मातहत राखिदिन प्रदेश प्रमुखको कार्यालयलाई लेखेर पठाए ।
मनाङेका स्वकीय सचिव सन्तोष अधिकारीले भने राजीनामा पत्र कार्यविभाजन हुनुभन्दा पहिल्यै तयार रहेकाले भौतिक पूर्वाधार मन्त्रालयको लेटरहेड प्रयोग गरिएको दाबी गरे । उनले शिलापत्रसँग भने, ‘त्यो पत्र बिहानै तयार पारेको हो ।’
उनले भनेजस्तो राजीनामा पत्र कार्यविभाजभन्दा अगाडि तयार भएको देखिँदैन । किनकि मन्त्री मनाङेले साँझ साढे ४ बजे आसपास एक जना पत्रकारसँग फोनमा भनेका छन्, ‘मैले राजीनामा दिइसकेँ । आएर (शपथबाट) लेख्दा १५–२० मिनेट लाग्यो ।’
अझ अर्को रोचक कुरा त उनले वनमन्त्रीबाट होइन, राजीनामाको भाषा हेर्दा भौतिक मन्त्रीबाट राजीनामा दिएको बुझिन्छ । ‘उपरोक्त विषयका सम्बन्धमा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालिरहेको अवस्थामा परिवर्तित राजनीतिक घटनाक्रमका कारण नेपालको संविधानको धारा १६९ को २ (क)बमोजिम आजकै मितिदेखि लागू हुने गरी मन्त्री पदबाट राजीनामा दिएको छु,’ उनको राजीनामाको व्यहोरा छ ।
यो व्यहोराको राजीनामाले उनले भौतिक मन्त्रीबाट राजीनामा दिएको बुझिन्छ । जबकि उनले राजीनामा बुझाउँदासम्म उनी वनमन्त्री भइसकेका थिए । यो घटनाक्रम हेर्दा मनाङेले आफू कानुनी हिसाबले भौतिक पूर्वाधार मन्त्रीबाट वनमन्त्री भएको नबुझेको देखिन्छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र उनको सचिवालयले पनि यो विषय थाहै पाएन । त्यसैले राजीनामा स्वीकृत भएको र मन्त्रालय मुख्यमन्त्रीले आफूले राखेको जानकारी सचिवालयले पत्रकारलाई दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्: