Bagmati Samachar Logo

माओवादी जनयुद्ध नभएको भए योगेश भट्टराई जस्ता पात्रहरु ज्ञानेन्द्रको जेलमा हुन्थे : डिपी ढकाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले माओवादी केन्द्रको भविश्य अखिल क्रान्तिकारीले निर्धारण गर्ने दाबी गरेकाछन् । दश वर्षे माओवादी जनयुद्धमा विद्यार्थीबाट राजनीति सुरु गरेका ढकालले माओवादी आन्दोलनको रक्षा र पार्टीको भविश्य तय गर्नेकाम अखिल क्रान्तिकारीको र त्यसको लागि पहिला संगठन बलियो बन्नुपर्ने बताए ।

माओवादीको भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) भक्तपुर बहुमुखी क्याम्पसको ९ औं क्याम्पस सम्मेलनलाई शनिवार उद्घाटन गर्दै प्रमुख अतिथि ढकालले भने, ‘नयाँ पुस्ता नजोडेपछि निश्चित समयपछि आन्दोलनको भविष्य सकिन्छ । माओवादी केन्द्रको आयु पनि विद्यार्थी संगठनमै निर्भर रहन्छ ।’

शहिदले बोकेका क्रान्तिकारी झण्डा बोक्न पाउनु विद्यार्थी वर्गका लागि गौरवको कुरा भएको भन्दै नेता ढकालले माओवादी आन्दोलन अघि बढाउँन विद्यार्थीहरुले नेतृत्व विकास गर्नुपर्नेमा जोड दिए । भक्तपुर बहुमुखी क्याम्पसका तत्कालीन विद्यार्थीहरु रमेश अधिकारी र चीनबहादुर बुढा लगायतले जनयुद्धमा शहादत प्राप्त गरेको स्मरण गर्दै उनले गर्विलो इतिहास बोकेको संगठनलाई अझ माथि उठाउनपर्ने आवश्यकता औल्याए ।

अनेरास्ववियु (क्रान्तिकारी) भक्तपुर बहुमुखी क्याम्पसको पहिलो अध्यक्ष समेत रहेका नेता ढकालले जिल्ला अध्यक्ष सुनिल बासु, प्रदेश सांसद भुवनकेशरी श्रेष्ठ भावना र मध्यपुर थिमीका उपप्रमुख विजय कृष्ण श्रेष्ठ अखिल क्रान्तिकारी पृष्ठभूमिका भएको उल्लेख गर्दै अखिल क्रान्तिकारीको राजनीतिक भविष्य पनि उज्जवल रहेको स्पष्ट पारे ।

सम्मेलनलाई सम्बोधन गर्दै नेता ढकालले भ्रष्टाचारीहरुको गठबन्धनमा वर्तमान सरकार बनेकोले त्यसले गर्ने जनविरोधी कामको प्रतिरोध गर्न निर्देशन दिए । आफ्ना पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले सुशासन र विकासको पक्षमा गरेका कामको प्रचारप्रसार गर्न पनि उनले प्रेरित गरेका छन् ।

माओवादीको बलिदानीले ल्याएको गणतन्त्रमा रजाइ गर्ने अनि जनयुद्धलाई हिंसा भन्नेहरु पूर्वराजा ज्ञानेन्द्रको हलि बसेर जिवीको चलाइरहेका देख्न पाइने दाबी गरे । उनले भने,‘हेक्का रहोस माओवादी जनयुद्ध नभएको भए योगेश भट्टराई जस्ता पात्रहरु कि ज्ञानेन्द्रको तलुवा चाटेर बसेका हुन्थे कि त उनको जेलमा कैदी जिवन बिताइरहेका हुन्थे । माओवादीले जनयुद्ध लडेर ल्याएको गणतन्त्रमा बोल्न पाएका छन् ।’

माओवादी २ सय ४० वर्षको इतिहास बोकेको राजतन्त्र फालेर आएको स्मरण गराउदै उनले एमाले कांग्रेसको लुटको स्वर्ग माओवादी केन्द्रले सजिलै ध्वस्त गर्ने उद्घोष समेत गरे । उनले भने, ‘भ्रष्टाचारमा डुंगडुंती गन्हाएको एमाले कांग्रेसलाई ८४ को चुनावमा एक्लै परास्त गरेर लुटको स्वर्ग ढाल्छौँ ।’

देशकै लामो मध्यपहाडी लोकमार्ग प्रचण्ड नेतृत्वको सरकारले बनाउन शुरु गरेको उनले जानकारी गराए । माओवादी सत्तामा नआउदा नेपाललाई दुई ढुंगा बीचको तरुल मानेर हिन भाव राख्ने गरेको बताउदै उनले आफूहरुले नेपाललाई दुई ठुला देशको बीचमा रहेको पूलको रुपमा साझेदारी खोज्न शुरु गरेको ढकालले बताए ।

माओवादीले सरकारकारे नेतृत्व गर्दा लोडसेडिङको अन्त्य गरेर विद्युत निर्यातको अवस्थामा ल्याएको, बायु सेवा निगममा ४ वटा जहाज किनेको, आयल निकमको घाटा घटाएको लगायतको बारेमा बताउदै उनले पासपोर्टका लागि राजधानी धाउनु नपर्ने र सेवाग्राहीको छाप रहने सरकारी कार्यालय बिदामा पनि खोल्ने व्यवस्था ल्याएको दावी गरे । उनले पार्टीका कामलाई जनताको बीचमा लैजान र जनताको दुख सुखको साथी बन्न अखिल क्रान्तिकारीलाई निर्देशन समेत दिए ।

कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष केशव रावलले संगठनलाई जनताको भरलाग्दो र माफियाका लागि डरलाग्दो बनाउन निर्देशन दिए । सो अवसरमा माओवादी केन्द्रका जिल्ला संयोजक सुनिल गोठे बासु, नगर अध्यक्ष राकेश सुवाल, अखिल क्रान्तिकारीका केन्द्रीय सचिव बालकुमार केसी, नरेन्द्र ऐडी, रमेश खड्का, उपत्यका सचिव समिर पाण्डे, केन्द्रीय सदस्य प्रकास केसी, मास बहादुर लामा, जिल्ला अध्यक्ष प्रदीप तज लगायतले सम्मेलनको शुभकामना व्यक्त गरेका थिए ।

सम्मेलनको बन्द सत्रले सागर बन्मालाको नेतृत्वमा ३१ सदस्यीय क्याम्पस समिति निर्विरोध निर्वाचित गरेको छ । स्ववियु सहसचिव समेत रहेका नेता मास बहादुर लामाको प्यानल प्रस्ताव सम्मेलनले सर्वसम्मत स्वीकृत गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा विरेन्द्र अधिकारी र उपाध्यक्षहरुमा रविना श्रेष्ठ र सूर्य तामांग रहेका छन् । त्यस्तै सचिवमा आकाश गजुरेल र सहसचिवमा दिव्या खड्का, पेम्बा लामा र सावित्रा विक निर्वाचित भएका छन् भने कोषाध्यक्षमा दिलमाया योञ्जन निर्वाचित भएकी छन् ।