मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त
काठमाडौं । सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको हो ।
हालका मुख्य सचिव लीलादेवी गड्तौलाले ५८ वर्षको उमेर हदका कारण भोलि शुक्रबार अवकाश पाउँदैछिन् । उनी १० साउनमा मुख्य सचिव नियक्त भएकी थिइन् ।
हाल गृह सचिव रहेका अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको छ । सचिवहरुको वरियतामा चौथो नम्बरमा थिए ।
राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली पहिलो, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी दोस्रो र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई तेस्रो वरीयतामा थिए ।
२०४६ सालमा प्रशासन सेवातर्फ नायबसुब्बा पदबाट निजामती सेवामा प्रवेश गरेका अर्याल २०५१ सालमा अधिकृत, २०५८ सालमा उपसचिव, २०६७ सालमा सहसचिव हुँदै २०७६ सालमा सचिव पदमा बढुवा भएका थिए ।
९ असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेदेखि नयाँ मुख्यसचिवको दौड सुरु भइसकेको थियो ।
अर्याल २ वर्षभन्दा बढी मुख्यसचिव रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्: