Bagmati Samachar Logo

समितीसँगको बयानमा रवि लामिछानेले भने– गोरखा मिडिया नेटवर्कले लिएको ऋणको जिम्मा लिन्नँ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गोरखा मिडिया नेटवर्कमा सहकारीबाट आएको ऋणको जिम्मा नलिने बताएका छन् ।

शुक्रबार सहकारी बचत अपचलन संसदीय विशेष छानबिन समितिमा बयान दिँदै उनले आफूले गोरखा मिडिया नेटवर्कमा कुनै लगानी नगरेको भन्दै १५ प्रतिशत ‘स्वेट सेयर’ लिएको बयानको क्रममा बताएका हुन् ।

लामिछानेले समितिमा बयान दिँदै आफूले मिडियामा एक रुपैयाँ पनि लगानी नगरेको दाबी गरेका छन् ।

लामिछानेलेको भनाइ भन्दै एक सदस्यले भने, ‘मैले स्वेट सेयर १५ प्रतिशत लिएको थिएँ । मैले कुनै पैसा लगानी नगरेको कुरा सार्वजनिक रूपमा भनिसकेको छु ।’
बयानको क्रममा लामिछानेले आफू कुनै पनि सहकारी सदस्य नभएको भन्दै सहकारीको ऋणको विषयमा जिम्मा लिन नसक्ने बताएको ती सदस्यले जानकारी दिए ।

उनको भनाइ भन्दै ती सदस्यले भने, ‘म सहकारीको सदस्य हैन र कुनै पनि लोन सहकारीबाट लिएको छैन । म सहकारीबाट मिडियाले लिएको लोनको जिम्मा लिन सक्दिनँ ।’