Bagmati Samachar Logo

छानबिन समितिमा रविकाे बयान : ‘मैले कार्यक्रमको पाटो हेरेँ, आर्थिक पाटो जिबी राईलाई थाहा छ’

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं तत्कालीन गोरखा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक रवि लामिछानेसँग सोधपुछ गरेको छ ।

समितिले लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा बयान लिएको हो । लामिछानेलाई समितिले दर्जानौं प्रश्न सोधेको छ । समितिले लिने बयानको पहिलो नम्बरमा अन्य व्यक्तिलाई झै आफ्ना नामसहित तीन पुस्ता र परिवारका सदस्यहरूको विवरण, परिवारका सदस्य, शारिरीक अवस्थालगायतका प्रश्न थिए ।

१५ नम्बर प्रश्नमा लामिछानेलाई व्यक्तिको नाममा ऋण खडा गरेर कम्पनीमा रकम पठाउन मिल्छ ? भनेर सोधिएको छ । ‘यसरी व्यक्तिको नाममा ऋण खडा गरी कम्पनीमा रकम पठाउन मिल्छ ? उक्त रकम गोरखा मिडिया नेटवर्क प्रालिमा के कुन आधारमा र प्रयोजनका लागि लिनुभएको थियो ?’ समितिको प्रश्न थियो ।

त्यस्तै प्रश्न नम्बर १६ मा सुप्रिम वचत तथा ऋण सहकारी लि। बुटवलमा छविलाल जोशीको नाममा २ करोड ५० लाखको ऋण खडा गरी गोरखा मिडिया नेटवर्क प्रालिको बचत ग्लोबल आईएमई बैंकमा भएको खातामा २ करोड ४५ लाख जम्मा भएको देखिन्छ । उक्त व्यहोरा के कसो हो ? भनेर समितिले प्रश्न गरेको छ । समितिले लामिछानेसँग ५० वटा प्रश्न गरेको छ ।

लामिछानेले सहकारी ठगी छानबिन विशेष समितिमा इन्कारी बयान दिए । बयानका क्रममा लामिछानेले आफूले कुनै पनि सहकारीबाट ऋण नलिएको यसअघिकै दाबीलाई दोहोर्‍याए ।

बयानमा लामिछानेले आफूले गोरखा मिडिया नेटवर्कमा पसिनाको १५ प्रतिशत शेयर लिएको र त्यसैका आधारमा एमडी भएको बताएका छन् । र, उनले गोरखा मिडियाले लिएको ऋणको जिम्मा आफूले नलिने बताएका छन् ।

जवाफमा लामिछानेले आफ्नो नाम कहाँबाट कसरी रकम जम्मा भयो भन्नेकुरा जिबी राईलाई थाहा हुने कुरा राखेको समिति सभापति सूर्यबहादुर थापाले बताए । उनले सभापति लामिछानेले आफू प्रबन्ध निर्देशक हुँदा कार्यक्रम सञ्चालन र उत्पादनमा मात्रै केन्द्रित भएको र आफूलाई आर्थिक विषयमा जानकारी नरहेको बताएको पनि जानकारी गराए ।

उनले भने, ‘सोधपुछको क्रममा उहाँले आफ्नो सहकारीसँगको, गोरखा मिडियासँगको सम्बन्धका बारेमा बताउनुभएको छ । जिबी राईसँगको चिनजानका बारेमा, जिबी राईको व्यावसायिक संलग्नताका बारेमा बताउनुभएको छ । करिब ५० वटा प्रश्नहरू उहाँसँग छन् । आधा जतिमा सोधपुछ गरिरहेका छौँ । विभिन्न सहकारीबाट आफ्नो नाममा प्रवाह गरिएका भनिएको रकम, ती सन्दर्भमा हस्ताक्षर, कागजात, नागरिकता सहितका चिजहरू त्यहाँ समावेश नभएको अहिलेसम्म ती कुराहरू राख्नुभयो । कहाँबाट कसरी रकम जम्मा भयो भन्नेकुरा जिबी राईलाई थाहा हुने विषय राख्नुभएको छ ।’

सभापति थापाले आजको बैठकमा समितिले गोरखा मिडिया नेटवर्कका संस्थापकमध्ये एक तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसँग सोधपुछ जारी छ ।