माओवादी भित्र जनार्दनको १४ बुँदे प्रस्तावको तरंग प्रदेशका परामर्श बैठकसम्म
काठमाडौं । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश परामर्श समितिको बैठकमा उपमहासचिव जनार्दन शर्माले स्थायी समितिमा पेस गरेको प्रस्तावमा छलफल भएको छ ।
शर्माको प्रस्तावमाथि बुधबारको बागमती प्रदेश परामर्श समितिको बैठकमा केही नेताहरूले ठीक छ छलफल बहस हुनुपर्छ भन्ने धारणा राखेका छन् । यसलाई बनाउनका लागि वैचारिक, राजनीतिक, सैद्धान्तिक छलफल हुनु ठीक छ, उपमहासचिव प्रभाकरले ल्याएको प्रस्ताव लागू हुनुपर्छ भन्ने धारण बैठकमा आएका एक प्रदेश पदाधिकारीले बताए ।
ती प्रदेश पदाधिकारीले भने, ‘आजको बैठकमा प्रभाकरको प्रस्तावका बारेमा पनि छलफल भयो । केहीले पक्षमा बोल्नुभयो । केहीले विपक्षमा बोल्नुभयो । नेतृत्व निर्वाचनबाट चयन हुनु पर्छ भन्ने धारणा पनि आएका छन् । नेतृत्वको तत्काल विकल्प छैन भन्ने धारणा पनि आएका छन् ।’
शर्माको प्रस्ताव प्रदेशको बैठकमा छलफल गराएर प्रचण्डले पार्टीमा आफ्नो बारेमा के कस्तो धारणा छ भनेर बुझ्न खोजेको माओवादी नेताहरू बताउँछन् । २६ साउनमा शर्माले स्थायी समितिको बैठकमा १४ पृष्ठको पार्टी निर्माणबारे प्रस्ताव पेस गरेका थिए ।
उक्त प्रस्तावपछि माओवादीमा नेतृत्वप्रति दुई धारणाबाहिर आउन थालेका छन् । पार्टी बनाउने हो भने शर्माले पेस गरेको प्रस्तावमा भएका राम्रा कुराहरू पार्टीले अवलम्बन गर्नु पर्ने धारणा केन्द्रीय सदस्य महेश्वर दाहालले बताए ।
दाहालले माओवादीको हिजोको इतिहास उत्पीडित र भुइँमान्छेका पक्षमा कुरा उठाएर बनेको उल्लेख गर्दै आज ती सबैलाई छोड्दा कमजोर बनेको धारणा राखेको बताए । उनले भने, ‘जनार्दन शर्माको प्रस्ताव लागू गर्नुपर्छ । उहाँको प्रस्तावबाट कोही आत्तिनु हुँदैन । पार्टी बनाउन बहस छलफल चाहिन्छ । रचनात्मक बहसको आवश्यकता छ । सुरुवात भएको छ ।’
दाहालले पार्टी पुनर्गठन गर्नुपर्ने धारणा पनि राखेको बताए । उनले भने, ‘माओवादी आन्दोलनबाट आएका सबैसँग एकता गर्नुपर्छ । पार्टी नेतृत्वमा बसेका सबैलाई निर्देशक बनाएर दोस्रो पुस्तालाई संगठनको नेतृत्व दिऔँ । विचारको सिद्धान्तको नेतृत्व प्रचण्ड, किरणलगायतले गरून् ।’ माओवादीमा आचाररविचार ठीक नहुँदा जनताले विश्वास गर्न छोडेको उनले बताएका छन् ।
पार्टी भित्रका अन्तर्रविरोध बाहिर आउनु राम्रो होइन । माथि नै हल गर्नुपर्नेमा तल आउँदा झन् समस्या भएको धारणा आएको केन्द्रीय सदस्य युवराज चौलागाईंले बताए । उनले भने, ‘पार्टीमा संगठनात्मक विधि बनाउनुपर्नेछ । संसदीय चुनावमा भाग लिने र कम्युनिस्ट पार्टी बनाउने विधि नै भएन । संसदीय राजनीतिमा चुनाव जित्नुपर्छ । कम्युनिस्ट पार्टीले क्याडर खोज्छ । यसको समाधान हुन सकेन । अब विधि बनाएर जानुपर्छ ।’
माओवादी पार्टीले भुइँमान्छेका मुद्दा उठाउन छोड्दा कमजोर बनेको उनले बताए । सबै तहका सरकार र पार्टीबीच तालमेल नहुँदा पार्टीमा पनि समस्या आएको उनको भनाइ छ । उनले भने, ‘पार्टी एकता, संघर्ष र रुपान्तरणको कुरा गर्छौं तर तल भएका अन्तर्विरोधका कुरा समयमा हल गर्न नसक्दा समस्या आएको छ । माओवादीले भुइँमान्छे भुल्दा पार्टी विभाजन भएको हो । अहिले पार्टीले भुइँमान्छे केन्द्रमा राख्नुपर्छ । प्रचण्डसहितको पार्टी बनाउनुपर्छ । आत्मसमीक्षा गरेर शब्दमा होइन, कर्ममा रुपान्तरण हुनुपर्छ ।’
केन्द्रीय सदस्य हिमाल शर्माले नेतृत्व निर्माण जनवादी तरिकाले हुनुपर्ने धारणा राखेको एक प्रदेश पदाधिकारीले बताए । उनले भने, ‘हिमालजीले नेतृत्व निर्वाचनबाट चयन हुनुपर्ने धारणा राख्नुभएको छ ।’
‘पदाधिकारी र स्थायी समितिको बैठकबाट विचारको बहसबाहिर गयो, विचारको बहस नहुने संगठनका कुरा मात्र प्राथमिकतामा पर्दा पार्टीमा समस्या भएको धारणा केन्द्रीय सदस्य कुमार पौडेले राखेको एक प्रदेश पदाधिकारीले बताए । उनले भने, ‘कुमारजीले नेतृत्व विचारसहितको हुन्छ भन्नुभयो । विचारको बहस हुनुपर्छ । पद बाँड्ने कुरा विधिअनुसार हुनुपर्छ । विधि र प्रक्रियाभन्दा बाहिर गएर केही हुँदैन । विचारसहित नेतृत्व निर्माण गर्नुपर्छ भन्ने धारणा राख्नुभयो ।’
केन्द्रीय सदस्य शालिकराम जम्कट्टेलले नेतृत्वलाई केन्द्रीयकरण गरेर जानुपर्ने धारणा राखेको एक केन्द्रीय सदस्यले बताए । ती केन्द्रीय सदस्यले शालिकरामको भनाइ भन्दै भने, ‘अध्यक्षको विकल्पका बारेमा सोच्न पनि सकिँदैन । अध्यक्षले संसदमा जे कुरा बोल्नुभएको छ, त्यसको मर्म र महत्त्व बुझेर अगाडि जानुको विकल्प छैन ।’
केन्द्रीय सदस्य राजन दाहालले पनि नेतृत्वको तत्काल विकल्प नहुने धारणा राखेका छन् । माओवादीमा एक पक्षले दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु पर्ने बताउदै आएका छन् । एक पक्षले प्रचण्डको विकल्प नभएको बताउछन् ।

प्रतिक्रिया दिनुहोस्: