मुख्यमन्त्री आचार्यलाई अवैधानिक भनेपछि विष्णु पौडेल र शंकर पोखरेलबीच बालुवाटारमा भनाभन
काठमाडौै । नेकपा एमालेका महासचिव शंकर पोखरेल र उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा लडाई भएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई पौडेलले अवैधानिक मुख्यमन्त्री भनेपछि विवाद भएको बालुवाटार स्रोतले बतायो । स्रोतले पौडेलको भनाइ भन्दै भन्यो, एमालेका महासचिव, उपाध्यक्ष तथा अर्थमन्त्री र मुख्यमन्त्रीबीच बालुवाटारमा विभिन्न विषयमा छलफल भइरहेको थियो । अर्थमन्त्रीले मुख्यमन्त्रीलाई घुमाउरो भाषामा अवैधानिक बाटोबाट मुख्यमन्त्री भएको आरोप लगाए । अवैधानिक बाटोबाट मुख्यमन्त्री भएकालाई बजेट नदिँदा पनि हुन्छ । बजेट नै हाल्दैन ।’
अर्थमन्त्री पौडेलको तत्काल महासचिव पोखरेलले प्रतिवाद गरे । किन कि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बन्नबाट रोकेर पोखरेल र अध्यक्ष ओलीले आचार्यलाई मुख्यमन्त्री बनाएका थिए । आफ्नो चाहनामा बनेका मुख्यमन्त्रीलाई अवैधानिक भनेपछि महासचिव पोखरेलले कडा प्रतिवाद गरेको स्रोतले बताए । स्रोतले पोखरेलको भनाइ भन्दै भन्यो, ‘उहाँ मुख्यमन्त्री हो । संसदीय दलको उपनेता हो । उहाँ एमालेको नेता हो । कसरी अवैधानिक भयो । यस्तो कुरा सुहाउदैन ।’
दोस्रो तहका नेताहरूबीच विवाद भएपछि ओलीले रोकेको स्रोत बताउँछ । उक्त स्रोतले भन्यो, ‘मुख्यमन्त्री आचार्य एक जना मन्त्रीका साथ प्रधानमन्त्री, अर्थमन्त्री र महासचिवसँग भेटघाट र छलफल गर्न बालुवाटार जानुभएको थियो । उहाँकै विषयमा विवाद बढेपछि प्रधानमन्त्रीज्युले रोक्नुभएछ ।’
बालुवाटारमा सबै नेताहरूसँगै हुँदा त्यस्तो कुनै प्रकारको घोचपेच नभएको मुख्यमन्त्री चेतनारायण आचार्यले बताए । उनले भने, ‘केही भएको होइन । अफवाह फैलाइएको हो । हामीहरूबीच हार्दिकताका साथ कुराकानी छलफल भएको हो । महासचिव र अर्थमन्त्रीज्यूबीच पनि केही भएको होइन ।’
केही दिनपहिला मुख्यमन्त्री आचार्य प्रधानमन्त्री र नेताहरूलाई भेट्न मन्त्रीसहितको टिम लिएर काठमाडौं आएका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा नै शीर्ष नेताहरू भेट्न पुगेका मुख्यमन्त्री नै विवादको कारण बनेका थिए ।
गिरीलाई वाइपास गरेर आचार्य मुख्यमन्त्री
असार १७ गते माओवादी र एमालेबीचको सत्ता गठबन्धन भत्क्यो । केन्द्रमा गठबन्धन भत्केपछि त्यसको असर प्रदेश सरकारमा पनि पर्ने नै भयो । केन्द्रमा एमालेका अध्यक्ष तथा दलका नेता ओली प्रधानमन्त्री बने । प्रदेशमा एमाले र कांग्रेसले मुख्यमन्त्री भागवण्डा गरे । लुम्बिनी प्रदेशमा एमालेको भागमा मुख्यमन्त्री पर्यो ।
माओवादी–एमालेबीच गठबन्धन हुँदा २०७९ साल पुसदेखि फागुनसम्म छोटो समय एमालेको तर्फबाट लुम्बिनी प्रदेशमा लीला गिरी मुख्यमन्त्री बनेका थिए ।
यसपटक पनि प्रदेशसभाले गिरीलाई मुख्यमन्त्री बनाउन तयारी मात्र होइन, प्रदेश प्रमुखको कार्यालयमा गिरी मुख्यमन्त्री हुने सूचना पुर्याइसकेका थिए । मुख्यमन्त्रीमा दाबी गर्न पत्र नै तयार भइसकेको एमाले स्रोत बताउँछन् ।
७ साउनको बिहान ९ बजेसम्म संसदीय दलका नेता लीला गिरीलाई मुख्यमन्त्री बनाउने तयारी थियो । तर, अध्यक्ष तथा प्रधानमन्त्री ओली र शंकर पोखरेलको निर्देशनमा एकाएक गिरीको नाम हटाएर संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउन भनियो ।
अन्तिम समयमा मुख्यमन्त्री हुनबाट गिरीलाई रोक्नुको कारण थियो एमालेभित्र पोखरेल र पौडेल गुटबीचको लडाइँ । गिरी पौडेल गुटका हुन् भने आचार्य पोखरेल गुटका ।
आफ्नो पक्षका गिरीलाई मुख्यमन्त्री बन्नबाट महासचिव पोखरेलले रोकेको रिस पौडेलले बालुवाटारमा पोखेका छन् । गिरीले प्रदेश अधिवेशनमा अध्यक्ष राधाकृष्ण कँडेललाई सहयोग गरेको रिसले पोखरेलले उनलाई मुख्यमन्त्री हुन रोकेको लुम्बिनीका एमाले नेताहरू बताउँछन् ।
लुम्बिनीका एमाले कार्यकर्ताहरू महासचिव पोखरेल पार्टीभित्र हावी हुँदा प्रदेशको राजधानी र राजनीति दुवै बिगारेको आरोप लगाउँदै आएका छन् । पोखरेलले मुख्यमन्त्री हुँदा लुम्बिनीको राजधानी बुटवलबाट सारेर दाङ लगेका थिए । त्यसको सबैभन्दा बढी विरोध पनि एमालेमा भएको थियो । बुटवल क्षेत्र उपाध्यक्ष तथा अर्थमन्त्री पौडेलको हो । दाङ पोखरेलको गृहजिल्ला हो ।
उत्तराधिकारीको लडाइँ
एमाले अध्यको विकल्पमा बहस नभए पनि उत्तराधिकारीको विषयमा एमालेमा १०औँ महाधिवेशनबाट विवाद छ । महाधिवेशनबाट पौडेल पनि महासचिवको आकांक्षी थिए । तर, अध्यक्ष ओलीले पोखरेललाई महासचिव बनाए । ओलीले पोखरेललाई महासचिव बनाएपछि पौडेललाई उपाध्यक्ष बनाए । पछिल्लो समयमा ओलीको उत्तराधिकारी हुने होड दुवै नेताहरूमा चलेको छ ।
पोखरेलभन्दा पौडेलको संगठनमा बलियो पकड छ । पोखरेल र पौडेल दुवै जना लुम्बिनी प्रदेशका हुन् । तर, लुम्बिनी प्रदेश कमिटीमा पनि पोखरेलभन्दा पौडेल बलिया मानिन्छन् । तर, ओलीनिकट हुँदा महासचिव पोखरेलले संगठनमा नसके पनि नियुक्तिमा पौडेललाई साइजमा राख्दै आएका छन् । पौडेललाई पनि राजधानी दाङ सारेकाले पोखरेलसँग बढी इगो छ ।
ओलीलाई धुरी माने पनि दोस्रो पुस्ताका यी दुई नेतामा चरम गुटबन्दी छ । दुई नेतामा नेतृत्व हत्याउनका लागि गुटबन्दी छ । त्यो गुटबन्दी सबैभन्दा बढी प्रदेश अधिवेशन र जिल्ला अधिवेशनमा देखियो । अधिकांश प्रदेश र जिल्ला अधिवेशनमा महासचिव पोखरेल र उपाध्यक्ष पौडेलबीच चरम गुटबन्दी देखियो ।
एमालेका पदाधिकारीदेखि जिल्ला तहसम्म गुटबन्दी छ । प्रदेश अधिवेशनमा पनि ओलीले चाहेका र पोखरेलले चाहेका अध्यक्षहरू निर्वाचित हुन सकेनन् । ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिँदा पनि निर्वाचन भएका थिए । कारण हो, पोखरेल र पौडेलबीचको गुटगत लडाइँ ।
पहिलो प्रदेश अधिवेशनमा पनि गुटगत लडाइँ लुम्बिनीबाट सुरु भएको थियो । लुम्बिनीमा नै पौडेल पक्षका राधाकृष्ण कँडेलले पोखरेल पक्षका हरि रिजाललाई अध्यक्षमा २ भोटले पराजित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: