प्रचण्डले अख्तियार लगाएर आफूलाई फसाउन चाहेको जनार्दनको आरोप
काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूलाई फसाउन प्रधानमन्त्री भएको समयमा अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले अख्तियार दुरपयोग अनुसन्धान आयोग लगाउने तयारी गरेको आरोप लगाएका छन् । जनार्दनले स्थायी समिति बैठकम पेश गरेको १४ बुँदाको दस्तावेजमा उक्त कुराको उल्लेख गरेका छन् । एउटा वाक्य लेखेका छन्, ‘प्रतिशोध साँध्न पार्टीभित्र राज्यशक्तिको प्रयोग गर्न खोजेको बारे प्रश्न ।’ प्रचण्डमाथि शर्माले उठाएका १३ वटा प्रश्नमध्ये चौथो बुँदामा शर्माले यो प्रसंग उठाएका छन् । प्रचण्ड प्रधानमन्त्री भई बालुवाटार गएपछिको सन्दर्भमा शर्माले लेखेको यो प्रसंग भने निकै गम्भीर छ । माओवादी स्रोतहरूका अनुसार प्रचण्डले राज्यशक्तिका स्रोत प्रयोग गरेर शर्मामाथि प्रश्न उठाउन खोजेपछि अर्थपूर्ण रूपमा शर्माले यो बुँदा लेखेका हुन् ।
माओवादी स्रोतका अनुसार, शर्माले राज्यशक्तिको दुरुपयोग गरी प्रतिशोध साँध्न खोजेको भनेर उल्लेख गर्नुको कारणचाहिँ प्रधानमन्त्री हुँदा प्रचण्डले शर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रयोग गर्न खोजेको सन्दर्भसँग जोडिएको छ । स्रोतका अनुसार प्रचण्डले त्यतिबेला अख्यितारका अधिकारीलाई बालुवाटारमा बोलाएर शर्माविरुद्ध अनुसन्धान गर्न अघोषित सन्देश दिएका थिए ।
माओवादी स्रोतले भन्यो, ‘त्यतिबेला प्रचण्डले अख्तियारका अधिकारीलाई शर्माविरुद्ध अख्तियारमा केही उजुरी छन् कि छैनन् भनेर चासो राखेका थिए । त्यसको अर्थ कुनै न कुनै उजुरीमा शर्मालाई अख्तियारले प्रश्न उठाइदेओस् भन्ने प्रचण्डको चाहना थियो ।’ शर्माले त्यही सूचना प्राप्त गरेका थिए । उक्त सूचनापछि प्रचण्डमाथि शर्माले राज्यशक्तिको प्रयोग गरेर प्रतिशोध साँध्न लागेको आरोप लगाएका हुन् ।
पार्टी नेतृत्वको कार्यशैलीसँग असहमत हुनेबित्तिकै ‘पार्टी छोडेर गए हुन्छ’ भन्नेदेखि पार्टी फुटाउन थालेको हल्ला प्रधानमन्त्री हुँदा बालुवाटारबाट नै चलाएको शर्माको भनाइ छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच तिक्तता बढ्दै गएको छ । केही महिनादेखि अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्माबीच ‘शीतयुद्ध’ चलिरहेको थियो । अध्यक्ष प्रचण्डले शर्मामाथि दबाब बढाउन जिम्मेवारी खोस्नेदेखि शर्मानिकटका नेताहरूलाई समेत जिम्मेवारीबाट हटाउने खेल खेलेका थिए । त्यति मात्र नभई शर्मा एमालेमा जाँदै छन् भनेर प्रचारसमेत गराएका थिए ।
त्यसपछि बढ्दो तिक्तताकै क्रममा जारी स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले नेतृत्व छोड्नुपर्ने अथवा प्रचण्डले चाहेको व्यक्तिलाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने मागसहित १४ पृष्ठको लिखित प्रस्ताव पेस गरेका छन् । शर्माले लिखित प्रस्तावमा अध्यक्ष प्रचण्डमाथि गम्भीर आरोपसमेत लगाएका छन् । त्यसले प्रचण्ड र शर्माको सम्बन्धमा गहिरो खाडल भइसकेको संकेत मिल्छ । प्रचण्ड र शर्माबीच यसरी दूरी बढ्ने परिघटना कसरी बन्यो भन्नेचाहिँ चासोको विषय बनेको छ ।
प्रचण्डले वर्षमानलाई सुनाएको त्यो झुट
आठौँ महाधिवेशनमा नै शर्मा सके सर्वसम्मत नभए निर्वाचनबाट माओवादी केन्द्रको महासचिव हुन चाहन्थे । अझ प्रचण्डले आफैँ बोलाएर महासचिवको तयारी गर्न भनेको शर्मानिकट नेताहरू बताउँछन् । तर, उक्त समयमा वर्षमान पुन चीनमा उपचाररत थिए ।
पुनलाई देखाएर प्रचण्डले शर्मालाई महासचिव हुनबाट रोके । प्रचण्डकै डिजाइनमा पुनले चीनबाट नै आफू पनि महासचिवमा उठ्ने घोषणा गरेका थिए । त्यो समयमा शर्मा र पुनलाई प्रचण्डले नै महासचिवको प्रस्ताव गरेको दुवै पक्षका नेताहरू बताउँछन् । तर, एकअर्काविरुद्ध भिडाएको भन्दै दुवै नेता केही समय एक भएका थिए ।
महासचिवको तयारीमा रहेका पुन चीनबाट फर्किन सक्ने अवस्था नहुँदै १७ पुस २०७८ मा आठौँ महाधिवेशन सुरु भयो । अध्यक्ष प्रचण्ड भए पनि महासचिवमा पुन र शर्माले दाबी गर्दै आएका थिए । महासचिवको दाबी गरे पनि चीनमा रहेका पुन फर्किन सक्ने अवस्था नहुँदा शर्मा महाचिवको तयारीमा लागेका थिए ।
पुन लामो समयपछि उपचार गरेर फर्के । त्यो समयसम्म माओवादीले पदाधिकारी चयन गरेको थिएन । उनले चीनबाट फर्किँदा विमानस्थलमा पनि पत्रकारहरूसँग आफ्नो अझै पनि महासचिवमा दाबी रहेको घोषणा गरेका थिए । उपचारबाट फर्केका पुनलाई भेट्न शर्मा उनको घर गए । भेट्न गएका शर्माले चीनमा हुँदा वर्षमान र ओनसरी घर्तीले आफ्नो फोन नउठाएको भन्दै गुनासो गरेको पनि माओवादी नेताहरू बताउँछन् । त्यतिबेला वर्षमान खासै नबोलेको पनि बताइएको छ ।
अन्तिममा ओनसरीले ‘तपाईंले अध्यक्षसँग बिरामी वर्षमानको ९स्वास्थ्यको० भर छैन, महासचिव मलाई बनाउनू भनेर भनेपछि किन फोन उठाउनु’ भन्दै जवाफ फर्काएकी थिइन् । खासमा चीनमा रहेका पुनलाई अध्यक्ष प्रचण्डले यस्तो कुरा सुनाएका रहेछन् । प्रचण्डले सुनाएपछि शर्माविरुद्ध आगो भएका पुन दम्पतीले फोन नै रिसिभ नगरेको त्यही बिहान खुलेको थियो । शर्मानिकट स्रोतका अनुसार, यो प्रसंग त्यतिमै भने सेलाएन । शर्माले पुन दम्पतीकै सामुन्ने प्रचण्डसँग आफूले कुनबेला त्यस्तो भनेको थिएँ भन्नोस्, किन झुटा बोल्नुभयो भनेर सोध्दा नाजवाफ भएको शर्मानिकट एक नेता बताउँछन् ।
त्यसपछि शर्मा र पुन एक भएका थिए । पुन र शर्मा मिलेपछि प्रचण्ड र उपाध्यक्ष कृष्णबहादुर महरा मिलेर माओवादीबाट विद्रोह गरेर गएका नेत्रविक्रम चन्द विप्लवलाई महासचिव बनाउने तयारी फेल भएको थियो । त्यसको झल्को कीर्तिपुरमा भएको विद्यार्थीको कार्यक्रममा प्रचण्ड र शर्माबीच चलेको दोहोरीबाट प्रस्ट हुन्छ । २० असार २०८० मा क्रान्तिकारी स्ववियु काउन्सिलको भेलामा प्रचण्डले विप्लवको प्रशंसा गरेका थिए । उनले भनेका थिए, ‘पूर्वमाओवादीहरू सबै एकतामा आउने आधार तयार भएका छन् । हामी आफूलाई रैथाने माओवादी ठान्छौँ । हामी बरु पार्टी डिफेन्स गर्न र नेतृत्वको पक्षमा कस्सिएर बोल्न डराएका जस्ता छौँ,’ प्रचण्डले भने, ‘तर हेर्नुभयो भने विप्लवजीहरू कस्सिएर बोल्न थाल्नुभएको छ, पार्टीको पक्षमा, नेतृत्वको पक्षमा । यो हाम्रा लागि खुसीको कुरा भयो ।’
२२ भदौ २०७९ प्रज्ञा भवनमा भएको विद्यार्थीको कार्यक्रममा पनि प्रचण्ड र शर्माबीच घोचपेच भएको थियो । उक्त कार्यक्रममा पहिला बोलेका शर्माले नेतृत्व सही ढंगले चल्न नसकेको भन्दै प्रचण्डको आलोचना गरेका थिए । उनले नीति र नेतृत्व सही रूपमा चल्नुपर्ने आफ्नो माग रहेको बताएका थिए । शर्माले आफूले नीति र नेतृत्वलाई सधैँ रक्षा गर्दै आएको र त्यो आफ्नो दायित्व पनि भएको बताएका थिए । उनले भनेका थिए, ‘म नीति र नेतृत्वलाई सधैँ रक्षा गर्दै आएको छु, मेरो दायित्व पनि हो, तर, नीति र नेतृत्व सही ढंगले अघि बढ्नुपर्छ भन्ने मेरो माग छ ।’
शर्माको भनाइप्रति असन्तुष्ट प्रचण्डले पनि त्यही कार्यक्रममा आफूले पनि शर्मालाई रक्षा गर्न र हुर्काउन भूमिका खेलेको बताए । प्रचण्डले भनेका थिए, ‘जनार्दनजीले जाँदाजाँदै भन्नुभयो नीति र नेतृत्वको रक्षाको कुरा । म तपाईंहरूलाई भन्न चाहन्छु– जनार्दनलाई रक्षा गर्न र हुर्काउन प्रचण्डको मुख्य भूमिका हो भन्ने कुरा पनि सबैले बुझ्न जरुरी छ ।’ प्रचण्डविरुद्ध शर्मा खरो तरिकाले उत्रनुमा प्रचण्डले शर्माविरुद्ध अभियान नै चलाएको माओवादीका नेताहरू बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्: