माओवादी बैठक : प्रचण्डको विकल्प छैन तर जनार्दनको माग सम्बोधन हुनु पर्छ
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्मा मिलेर जानु पर्ने कुरा उठेको छ । आइतबारको बैठकमा प्रचण्ड र प्रभावकर नमिलेर पार्टी नबन्ने धारणा स्थायी समिति सदस्य कालीबहादुर मल्लले राखेका थिए । मल्लले भने,‘प्रचण्ड र प्रभावकर नमिलेर यो पार्टी बन्दैन । प्रभाकरले तत्काल प्रचण्डको विकल्प खोज्नु भावनामा बग्नु हो । अहिले प्रचण्डले आफ्ना कमिकमजोरी सुधारेर जानु पर्छ र नेतृत्वमा तत्काल उनको विकल्प छैन । प्रभाकरले उठाएका कुरा पार्टीले समाधान गर्नु पर्छ । पार्टीलाई समृद्ध बनाउन पनि जनार्दनले राखेका कुराको सम्बोधन गर्नु पर्छ ।’
आज बोल्ने सदस्यहरुले पार्टी बनाउनु पर्छ भन्ने कुरा राखेका थिए । आज बैठकमा १३ जनाले आफ्ना धारणा राखेका थिए । अधिकासंले माओवादी सांगठनिक रुपमा कमजोर भएको , वैचारिक, सांगठनिक, विधिगत रूपमा तयारी गर्दै जानु पर्ने धारणा राखेका छन् । माओवादीको पुनरउदय हुनेको लागि शुद्धिकरण अभियान चलाउनु पर्ने धारण पनि आएको अर्का स्थायी समिति सदस्यले बताए ।
प्रचण्ड र प्रभाकरकोबीचको विवादका विषयमा पनि अधिकासं नेताहरुले कुरा उठाएको र सबैको जोड मिलेर जानु पर्ने, कमजोर भएको समयमा मिलेर पार्टीलाई बलियो बनाउनु पर्ने धारण राखेका ती सदस्यले बताए ।
प्रचण्डले उत्तराधिकारी तयार पार्नु पर्ने धारण मल्ललगायत अन्य नेताले राखेका थिए । तीन नेताले बैठकमा नेताहरुको भनाइ भन्दै भने,‘ प्रचण्डको विकल्प छैन तर उत्तराधिकारी तयार पार्नु पर्ने छ । उत्तराधिकारी तयार पार्दा सिंगो पार्टी र प्रचण्ड लाग्नु पर्छ ।’
आइतबार बसेको बैठकमा बोल्ने अधिकांश नेताहरूले नीति र नेतृत्वको विषयमा सैद्धान्तिक बहस गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
उनले भने,‘उत्तराधिकारी तयार पार्ने कुरामा सिद्धान्त, विचार, विधिमा धेरै राम्रो तयारी गर्नुपर्ने भन्दै उनले सैद्धान्तिक बहस मात्र भएकाले यसबारे केन्द्रीय समिति बैठकले मात्र टुङ्ग्याउने बताए । यस्तै विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने भन्नेमा छलफल भइरहे छ ।’
केहि नेताहरुले विशेष महाधिवेशन गरेर जानु पर्ने प्रस्ताव गरेका छन् भने केहिले नियमित महाधिवेशन नै गर्नु पर्ने धारणा राखेका छन् । बोल्नेमा बहुमत सदस्यहरुले विशेष महाधिवेशन गरी सांगठनिक समस्या समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्: