Bagmati Samachar Logo

सरकार परिवर्तनसँगै प्रहरीमा आफू अनुकुल सरुवा , ज्ञवाली सिआइबीबाट हटाइए

काठमाडौँ । सरकारले नेपाल प्रहरीका ३ जना एआईजीहरुको सरुवा गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत एआईजी श्यामलाल ज्ञवालीलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ ।

सीआईबी प्रमुखलाई सरकारले पाँच महिनामा नै सरुवा गरेको छ । ज्ञवाली २०८० चैत २ मा मन्त्रिपरिषद्को निर्णय अनुसार सीआईबीमा गएका थिए ।

सीआईबीमा एआईजी दीपक थापालाई सरुवा गरिएको छ । उपत्यका प्रहरी कार्यालयमा एआईजी किरण बज्राचार्यलाई सरुवा गरिएको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा सुब्बा गुरुङले बताए ।

डीआईजी रामदत्त जोशीलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । बढुवासँगै उनलाई प्रहरी प्रधान कार्यालय स्थित कार्य विभागमा पदस्थापना गरिएको छ ।

ब्यूरोमा पठाइएका थापा उपत्यका प्रहरी कार्यालयमा कार्यरत थिए । ब्रजाचार्यलाई सुन तस्करी जाँचबुझ आयोगले अनुसन्धानमा लापरबाही गरेको भन्दै विभागीय कारबाही गर्न सिफारिस गरेको थियो । त्यसपछि उनलाई प्रहरी प्रमुख प्रधान कार्यालयको कार्य विभागमा सरुवा गरेको थियो ।