Bagmati Samachar Logo

एमाले कार्य विभाजन : नेताहरूको व्यवस्थापन गरी आन्तरिक सन्तुलन मिलाउने प्रयास

काठमाडौैं । एमालेको सचिवालय बैठकले प्रदेशका इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ । आज बसेरा होटलमा बसेको सचिवालय बैठकले भौगोलीक रुपमा ७ वटा प्रदेशको र अन्य विभागका इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ । एमालेमा अध्यक्ष केपी शर्मा ओली बाहेक सबै नेताको एक व्यक्ति एक पदको जिम्मेवारी दिने रणनीति अपनाएको छ । त्यहि रणनीति अनुसार जिम्मेवारी बाँडफाँड गरिएको छ । तर आन्तरिक राजनीतिमा पनि यसले फरक पार्ने देखिएको छ ।

सचिवालय बैठक पार्टीमा तीन जना सचिवलाई प्रदेश र अन्र्तराष्ट्रिय विभागको जिम्मेवारी दिएको छ । जसमा सुदुरपश्चिम प्रदेशमा सचिव लेखराज भट्ट इन्चार्ज भएका छन् । लुम्बिनी प्रदेशमा सचिव पद्यमा अर्याल इन्चार्ज भएकी छिन् । भने अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी सचिव रघुविर महासेठले पाएका छन् ।

शेरधन राईलाई कोशीको इन्चार्ज बनाइएको छ । राई प्रतिनिधिसभामा पराजित उम्मेदवार थिए । स्थायी कमिटी सदस्य रहेका राईलाई इन्चार्ज बनाएर एमालेले जातीय समीकरणसमेत मिलाउन प्रयास गरेको देखिन्छ ।

अर्कातिर मधेशको इन्चार्ज रहेका सचिव योगेश भट्टराईलाई हटाएर लीलानाथ श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । सचिवालयले स्थायी कमिटी सदस्यमा मनोनीत गर्ने र इन्चार्ज एकसाथ बनाएर श्रेष्ठलाई पुरस्कृत गरेको छ । योगेश भट्टराईलाई संसदीय विभाग प्रमुख बनाइएको छ ।

मधेशबाट सचिवसमेत रहेका रघुवीर महासेठलाई विदेश विभाग प्रमुख बनाइएको छ । महासेठ इन्चार्ज हुँदा मधेशमा एमालेभित्र विवाद भइरहने गरेको थियो । त्यसले पछिल्ला केही वर्षदेखि एमालेले महासेठलाई पार्टीको भूगोलको जिम्मा भन्दा पनि राजकीय जिम्मेवारी दिने गरेको छ । उनलाई अवसर चाहिँ दिइरहने तर भूगोलभन्दा पनि मन्त्री बनाउने नीति एमालेले लिने गरेको छ । हुन पनि पछिल्ला दिनमा महासेठलाई भूगोलको जिम्मा दिन छोडेपछि मधेशमा एमालेको संगठन बलियो भन्दै गएको छ ।

त्यसैगरी, एमालेले गण्डकी प्रदेशको इञ्जार्चमा किरण गुरुङलाई बनाएको छ । सचिव गोकर्ण विष्टलाई हटाएर गुरुङलाई ल्याएको हो । गण्डकीमा उपमहासचिव पृथ्वीसुुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको गुटको विवाद लामो समयदेखि चलिरहेको छ । त्यसको बीचमा गुरुङले इन्चार्ज पाएका छन् । विष्टले विवादको व्यवस्थापन गर्न सकेका थिएनन् ।

उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल समूहको कडा संघर्ष रहेको लुम्बिनीमा अर्यालको निरन्तरता भने चासोको विषय बनेको छ । पछिल्ला दिनमा महासचिव लुम्बिनीमा दबाब सिर्जना गरिरहेका छन् । पार्टी र संसदीय फाँटमा दबाब बढाउँदै पौडेल समूहलाई कमजोर बनाइरहेका छन् । त्यही क्रममा पौडेल निकटका संसदीय दलका नेता लीला गिरीलाई मुख्यमन्त्रीमा रोकेर पोखरेलले आफूनिकट चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाएका छन् । त्यसैले, अर्यालको निरन्तरताचाहिँ रहस्यको विषय बनेको छ ।

भट्ट सरुवाको कारण भने कर्णालीको अन्तरविरोधलाई मानिएको छ । पार्टी सचिव रहेका भट्टले कर्णालीको विवाद निरुपणमा खास भूमिका नखेलेको आरोप छ । त्यहाँ नेता यामलाल कँडेल र प्रदेश अध्यक्ष गुलावजंग शाहको टोली भट्टप्रति नकारात्मक थिए । ओलीको निर्देशनअनुसार भट्टले प्रदेश कमिटीको चुनाव रोक्न खोज्दा कँडेल र शाहले नै अटेरी गरेका थिए ।

त्यसबेला कँडेलको विपक्षी टिममा रहेका गोरखबहादुर बोगटी इन्चार्ज भएका छन् । बोगटीलाई इन्चार्ज दिएपछि भट्ट सुदूरपश्चिम पुगे । सुदूरपश्चिम प्रदेशका नेता कर्णबहादुर थापालाई भने ओलीले साथ लिन छोडेको अर्थमा पनि विश्लेषण हुन थालेको छ ।

कुनै बेला ओलीको विश्वासपात्र रहेका थापाको पछिल्ला दिनमा दूरी बढ्दै गएको छ । कतिपयले थापाले पार्टीमा विद्या भण्डारीको आगमन आवश्यक रहेको टिप्पणी गरेपछि ओलीसँग सम्बन्ध बिग्रिएको बताउने गरेका छन् ।

यता, बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी भने राजन भट्टराईले पाएका छन् । ओलीको विगतमा विदेश मामिला सल्लाहकार रहेका भट्टराईका लागि भने राजनीतिक रूपमा निकै ठूलो अवसर पनि हो । भूगोलको राजनीतिभन्दा पनि प्राज्ञिक अभ्यासमा बढ्ता केन्द्रित हुने गरेका भट्टराईका लागि भूगोलको राजनीति गर्ने सबैभन्दा ठूलो अवसर प्राप्त भएको छ । यसअघि विदेश विभाग प्रमुख रहेका उनलाई त्यो जिम्मेवारीबाट हटाएर प्रदेश इन्चार्ज बनाइएको हो ।