Bagmati Samachar Logo

बागमती प्रदेशको मुख्यमन्त्रीमा लामाको दाबी पेस

हेटौँंडा । बागमती प्रदेशमा मुख्यमन्त्रीको लागि कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले दाबी पेस गरेका छन् । मंगलबार सत्ता साझेदार दल नेकपा एमालेका नेता जग्गनाथ थपलिया तथा सांसदहरुसहित हेटौंडा–१० स्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेर लामाले दाबी पेस गरेका हुन् ।

उनले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई ६४ सांसदको हस्ताक्षरसहितको पत्र बुझाएका छन् । बागमतीमा सरकार बनाउन ५६ जना सांसद भए बहुमत पुग्छ । बामगती प्रदेश सभा ११० सदस्यीय छ।

प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आइतबार दाबी पेस गर्न आह्वान गरेका थिए । शर्माले आज मंगलबार साँझ ५ बजेसम्म दावीका लागि समय तोकेका छन् ।

आइतबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको हो । केन्द्रीय समीकरण अनुसार बागमतीमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने छ । एमाले र कांग्रेसबीच केन्द्रमा गठबन्धन बनेसँगै प्रदेशमा पनि सरकार परिवर्तनभएर नयाँ बन्न थालेका छन् ।

बागमती सहमतिअनुसार प्रदेशको सुरुआतमा नेपाली कांग्रेसका दलका नेता बहादुरसिंह लामा २० महिना र त्यसपछि नेकपा एमालेका दलका नेता जगन्नाथ थपलिया मुख्यमन्त्री बन्ने सहमति बनेको छ ।

सहमतिअनुसार एमालेले भौतिक पूर्वाधारसहित ६ मन्त्रालय र कांग्रेसले मुख्यमन्त्रीसहित ७ वटा लिने सहमति बनेको छ । कांग्रेसले मुख्यमन्त्रीसहित, आर्थिक मामिला तथा योजना मन्त्रालय , आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक, युवा तथा खेलकुद मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय , संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय लिने भएको छ ।