Bagmati Samachar Logo

जुम्लामा यार्सा लुट्ने गिरोह अत्याधुनिक हतियारसहित पक्राउ

काठमाडौं । जुम्लामा अत्याधुनिक हातहतियारसहित एक समूह पक्राउ परेको छ । जुम्ला प्रहरीले शुक्रबार जुम्लाको पातारासी गाउँपालिका– ३, महरीगाउँको चने लेकनजिकको पाटनबाट अत्याधुनिक हतियारसहित पाँच जनालाई पक्राउ गरेको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीका अनुसार १४ जेठमा मुगुम कार्मारोङ गाउँपालिका– १, डोल्पु गाउँका स्थानीयहरू यार्सागुम्बा संकलन गर्न गएको मौका छोपेर आठ जनाको हतियारधारी समूहले स्थानीयको घरमा लुटपाट गरेको थियो ।

घटनालगत्तै जुम्ला, मुगु र डोल्पाका नाकाहरूमा प्रहरी खटाइएको थियो । घटना भएको झण्डै एक महिनापछि मुगुमा पछिल्लोपटक स्थानीयले संकलन गरेको यार्सा लुटपाटमा संलग्न तिनै आठमध्ये पाँच जनालाई अत्याधुनिक हातहतियारसहित प्रहरीले पक्राउ गरेको डीआईजी चन्दले बताए ।

‘अरु पनि पक्राउ परेको जानकारी आएको छ, तर त्यो ठाउँमा मौसम अनुकूल नहुँदा यकिन जानकारी आएको छैन । प्रहरीको टोली अहिले पनि घटनास्थलमै छ,’ डीआईजी चन्दले भने, ‘सम्भवतः आज राति वा शनिबार बिहानसम्म अनुसन्धानमा खटिएको टोली जुम्ला सदरमुकाम पुगेपछि घटनाको यथार्थ बाहिर आउँछ । अहिलेसम्म पाँच जना पक्राउ गरिएको छ । घटनामा संलग्न सबैलाई प्रहरीले समातेको हुन सक्छ सम्पर्क भइरहेको छैन ।’

उनले अनुसन्धानमा मुगु र जुम्लाबाट प्रहरीको संयुक्त टोली खटिएको बताए । प्रहरी स्रोत जुम्लाका अनुसार पातारासीकै आठ जना पक्राउ परेको र उनीहरूबाट लुटपाटमा प्रयोग गरिएका अत्याधुनिक हतियारसमेत बरामद गरिएको छ । प्रहरीले बरामद गरेका हातहतियारमा कटुवा पेस्तोल एक थान, एसएलआर एक थान, दुई थान म्याग्जिन, २५ राउन्ड एसएलआरको गोली, तीन थान ओकेटोके, एक थान बाइनाकुलर, पाँच सेट आर्मीको ड्रेस र ट्रेकिङ झोला रहेका छन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ पर्नेमा जुम्ला पातारासी गाउँपालिकाका पशे भनिने गणेश भण्डारी, धनप्रसाद भण्डारी, नवराज बुढा, पूर्णप्रसाद भण्डारी, राम अधिकारी, मानबहादुर बुढा, कमल थापा र वीरबल बोहरा रहेको प्रहरीले जनाएको छ ।

१४ जेठको राति मुगमा यही टोलीले दुईवटा हतियार र अन्य घरेलु हतियार देखाउँदै स्थानीयका घरघरमा तलासी गर्दै गरगहना, सामान र नगद लुटेर लगेका थिए । विगत तीन वर्षदेखि जुम्ला, डोल्पा र मुगु जिल्लामा यार्सागुम्बा लुटपाट हुने गरेको थियो । ती घटनामा पनि प्रहरीले पक्राउ परेका व्यक्तिहरू नै संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका सबैलाई मुगु लगिएको प्रहरीले बताए ।