Swornakshar Logo

भौतिक पूर्वाधार मन्त्रालयलाई १ खर्ब ५० अर्ब ५३ करोड बजेट

काठमाडौं । सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ५० अर्ब ५३ करोड विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१–८२ को बजेटमा उक्त मन्त्रालयले कार्यान्वयन गर्ने विभिन्न आयोजनासहित बजेट विनियोजन गरिएको उल्लेख गरे ।

सडक पूर्वाधारलाई सुरक्षित, गुणस्तरीय, दिगो र भरपर्दो बनाइने सरकारको लक्ष्य रहेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड र कमला–कञ्चनपुर सडकखण्डलाई चार लेनमा विस्तार गर्ने कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बजेटमा उल्लेख छ । काँकडभिट्टा–लौकही, कमला–ढल्केवर–पथलैया, पथलैया–नारायणघाट, बुटवल–गोरुसिङ्गे र भालुवाङ–लमही सडकखण्ड स्तरोन्नति कार्य सुरू गरिने र पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि २९ अर्ब ८८ करोड विनियोजन गरिएको बजेटमा उल्लेख छ ।

यसैगरी, काठमाडौं–तराईं मधेश द्रुत मार्ग सडक आयोजनाअन्तर्गत निर्माणाधीन महादेवटार, धेद्रे र लेनडाँडा सुरुङमार्गको निर्माण आगामी आवमा सम्पन्न गर्ने सरकारको लक्ष्य छ । काठमाडौं–तराई मधेश द्रुत मार्ग आयोजनाका लागि २२ अर्ब ५४ करोड विनियोजन भएको छ ।

अर्थमन्त्री पुनका अनुसार आगामी आवमा मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत निर्माणाधीन कटुञ्जे–आरुघाट सडकखण्डसमेत गरी ७५ किलोमिटर कालोपत्रे र १० वटा पुल निर्माण सम्पन्न गर्न तीन अर्ब ६८ करोड विनियोजन भएको छ । हुलाकी राजमार्गअन्तर्गत ७५ किलोमिटर कालोपत्रे र १० वटा पुलको निर्माण कार्य सम्पन्न गर्न ३ अर्ब ३० करोड विनियोजन गरिएको छ ।

बजेटमा कोशी, कालीगण्डकी र कर्णाली कोरिडोरको निर्माण कार्यलाई तीव्रताका साथ अगाडि बढाइने उल्लेख छ । कालीगण्डकी कोरिडोरको गैँडाकोट–राम्दी–मालढुङ्गा खण्ड र मालढुङ्गा–बेनी–जोमसोम–कोरोला खण्ड गरी थप ५० किलोमिटर र कोशी कोरिडोरको थप ३० किलोमिटर सडक कालोपत्रे गरिने उनको भनाइ छ । कर्णाली कोरिडोरको पाँचवटा पुल निर्माण र ५० किलोमिटर सडक स्तरोन्नति गरिनेछ । उत्तर दक्षिण कोरिडोरको लागि ४ अर्ब ४३ करोड विनियोजन भएको छ ।

मदन भण्डारी राजमार्गको बाँकी निर्माण कार्य अगाडि बढाउन ३ अर्ब ६० करोड विनियोजन गरेको छ । रत्न राजमार्ग, कर्णाली राजमार्ग, सिद्धार्थ राजमार्गलगायतका सडक सञ्जालको विस्तार र स्तरोन्नति कार्यलाई तीव्रता दिइनेछ । नागढुङ्गा–नौबिसे–मुग्लिङ खण्डमा थप ४० किलोमिटर स्तरोन्नति गरिने बजेटमा उल्लेख गरिएको छ । आँबुखैरनी–पोखरा खण्डमा कालोपत्रे सम्पन्न र मुग्लिङ–आँबुखैरनी खण्ड विस्तारको निर्माण कार्य सुरु गरिने लक्ष्य छ । यसका लागि ९ अर्ब ५७ करोड विनियोजन भएको छ ।

बजेट वक्तव्यअनुसार शहीद मार्गअन्तर्गत होलेरी–दारबोट खण्डमा बीस किलोमिटर कालोपत्रे, दारबोट–घर्ती गाउँ–दुई खोली खण्डमा २० किलोमिटर ग्राभेल र घोराही–होलेरी खण्डमा कालोपत्रे सुरु गरिनेछ । यसका लागि १ अर्ब २५ करोड विनियोजन भएको छ । भेरी, तमोर, महाकाली कोरिडोर, सेती लोकमार्ग र सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकको स्तरोन्नतिका गरिनेछ । कोरिडोरतर्फ ३ अर्ब ८६ करोड विनियोजन भएको छ ।

यसैगरी, अन्तरदेशीय व्यापारिक मार्गको गल्छीदेखि स्याफ्रुबेँसीसम्म सडक स्तरोन्नति कार्य सम्पन्न र स्याफ्रुबेँसी–रसुवागढी सडक स्तरोन्नति कार्य सुरु गर्ने लक्ष्य रहेको छ । यसका लागि एक अर्ब ८० करोड विनियोजन भएको छ । पृथ्वी राजमार्गको विमलनगरदेखि गोर्खाको लिगलिगकोट–भच्चेक–बारपाक–बुङकोट–गोरखाबजार मनकामना–बेनीघाटसम्म पडवे यातायात प्रणालीको सम्भाव्यता अध्ययन र लगानी ढाँचा तय गरी निर्माण कार्य अगाडि बढाइने वक्तव्यमा उल्लेख छ ।

राष्ट्रिय राजमार्ग र रणनीतिक सडकअन्तर्गत १ सय ५० वटा पुल निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य छ । नारायणी तथा तिनाउ नदीमा ‘सिग्नेचर ब्रिज’ निर्माण कार्य अगाडि बढाइनेछ । यी कार्यक्रमका लागि दुई अर्ब ४६ करोड विनियोजन भएको छ ।

बजेट वक्तव्यमा सिस्नेखोला–नागढुङ्गा सुरुङमार्ग निर्माण सम्पन्न गरी यातायात सञ्चालन गरिने र सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ खन्ने कार्य सम्पन्न गरिने उल्लेख छ । यस्तै, ग्वार्को चोकमा फ्लाई ओभरको निर्माण कार्य सम्पन्न गरी यातायात सञ्चालन गर्ने र कोटेश्वर इन्टरसेक्सन निर्माण कार्य सुरु उल्लेख छ । सुरुङमार्ग, फ्लाइओभर र इन्टरसेक्सन निर्माणका लागि पाँच अर्ब ६३ करोड विनियोजन भएको छ ।

यस्तै, राष्ट्रिय राजमार्गको दुई सय ५० किलोमिटर र अन्य राजमार्गको सात हजार आठ सय किलोमिटर सडकको मर्मतसम्भार गर्न छ अर्ब ५४ करोड विनियोजन भएको छ । सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित राष्ट्रिय सडक सञ्जालका लागि डिजाइन तथा निर्माणको चरणमा सडक सुरक्षा परीक्षणको व्यवस्था गरिने लक्ष्य रहेको छ । सम्भावित दुर्घटनास्थल पहिचान गरी घुम्ती तथा साँघुरो सडकमा ‘क्र्यास व्यारियर’ र काठमाडौं उपत्यकाभित्रका व्यस्त ४४ वटा चोकमा स्मार्ट ट्राफिक लाइट जडान गरिने सरकारको लक्ष्य छ ।

बजेट वक्तव्यअनुसार जयनगर–बर्दिवास रेलमार्गअन्तर्गत विजलपुरा–बर्दिवास खण्ड तथा बथनाहा–विराटनगर खण्डमा जग्गा प्राप्तिको कार्य सम्पन्न गरिनेछ । पूर्व(पश्चिम विद्युतीय रेलमार्गको बर्दिवास–चोचा खण्डको निर्माणाधीन कार्य सम्पन्न गरिने र केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न गरिनेलगायत रेलमार्ग विकासका लागि तीन अर्ब ८८ करोड विनियोजन भएको छ ।

बजेटमा सुनकोशी र नारायणी नदीमा जलमार्ग निर्माण सुरु गरिने र नारायणी नदीमा सञ्चालित जलयानमा यात्रु चढ्न र ओर्लन सहज र सुरक्षित हुने गरी टर्मिनल निर्माण गरिने लक्ष्य छ ।