Swornakshar Logo

पोखराका सहकारीपीडितको नारा : जीबी राई कहाँ छ, रवि दाइलाई थाहा छ

काठमाडौं । पोखराका ६ वटा सहकारीले पैसा खाइदिएपछि पीडित बनेका बचतकर्ताले दबाब र्‍याली निकालेका छन्। कास्की सहकारी बचत पीडित संघर्ष समितिको पहलमा फरार प्रतिवादीहरूलाई पक्राउ गर्न र आफूहरूको बचतको सुरक्षाको माग गर्दै सोमबार र्‍यालीसहित प्रदर्शन गरेका हुन् ।

उनीहरूले ‘सहकारी ठग विदेशमा चिल्ला गाडीमा सरर, हामी पीडित यहाँ भोक, रोग र प्यासले हरर’, ‘जीबी राई कहाँ छ, रवि दाइलाई थाहा छ’, ‘देवकुमार नेपाली कहाँ छ, रवि दाइलाई थाहा छ’, ‘जीबी राई, देवकुमार नेपालीलाई पक्राउ गर’, ‘सहकारी पीडितलाई अझै कति दिन तड्पाउँछस् सरकार ?’, ‘सहकारी ठगलाई सामाजिक बहिष्कार गरौँ’, ‘सहकारी ठगलाई राजनीतिक संरक्षण, कसले गर्छ हाम्रो बचतको सुरक्षण ?’, ‘सहकारी पीडितलाई न्याय दे’, लगायत नारा लगाए ।

गृहमन्त्री रवि लामिछाने पनि सहकारीको रकम अपचलनको मुद्दामा जोडिएकाले सरकारले दोषीलाई पक्राउ गर्न आनाकानी गरेको पीडितहरूको आरोप छ । आफूहरूले प्रधानमन्धी, उपप्रधानमन्त्री एवं गृहमन्त्री, दलका शीर्ष नेतालाई भेटेर समस्या समाधानको माग गर्दा पनि सुनुवाइ नभएको संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले जानकारी दिए ।

पोखराको गैह्रापाटनस्थित जिल्ला प्रहरी कार्यालय अगाडिबाट सुरु भएको र्‍याली न्यूरोड हुँदै जिल्ला प्रशासन कार्यालय सहिदचोक पुगेर टुंगिएको थियो । समितिले जिल्ला प्रहरी कार्यालय, पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापनपत्र बुझाएको छ । पीडितले फरार प्रतिवादीलाई पक्राउ गर्न, सहकारीपीडितको समस्या राज्यबाट छिटो समाधान गर्न, आफूहरूमाथि राजनीति बन्द गर्न, अभियुक्तलाई राजनीतिक संरक्षण नगर्न माग गरेका छन् ।

त्यसैले आन्दोलनलाई थप सशक्त पार्न सहकारीपीडित एउटै समिति बनाएर अघि बढेको उनले बताए । यसअघि छुट्टाछुट्टै समिति बनाएर आन्दोलित सहकारीपीडित गत ५ वैशाखदेखि एकजुट भएका छन् । सूर्यदर्शन, इमेज, मित्रमिलन, बलिदानी, शिवशिखर र विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्था गरेर ६ वटा सहकारीबाट पीडित बचतकर्ताले संयुक्त संघर्ष समिति बनाएर सोमबार प्रदर्शन गरेका हुन् । पोखराका यी ६ सहकारीबाट ३ अर्ब रुपैयाँ अपचलन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।