Swornakshar Logo

रामहरि श्रेष्ठ हत्या आरोपमा १५ वर्ष पछि कालीबहादुर खाम पक्राउ

काठमाडौं । कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको हत्या आरोपमा १५ वर्षपछि कालीबहादुर खाम पक्राउ परेका छन् ।

माओवादीका पूर्वजनमुक्ति सेनाका कमाण्डर रहेका खामलाई मंगलबार दिउँसो काठमाडौंबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार जिल्ला प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका खाममाथि २०६५ मा व्यापारी रामहरि श्रेष्ठलाई नियन्त्रण लिएर हत्या गरेको अभियोग छ । १५ वैशाख २०६५ मा श्रेष्ठलाई कोटेश्वरबाट नियन्त्रणमा लिएर चितवनको शक्तिखोरस्थित माओवादी लडाकुको शिविरमा पुर्‍याइएको थियो ।

खामकै अगुवाइमा श्रेष्ठलाई नियन्त्रणमा लिएको बताइएको छ । त्यतिबेला श्रेष्ठको घरमा माओवादी लडाकुको तेस्रो डिभिजनको सम्पर्क कार्यालय राखिएको र उक्त कार्यालयबाट १४ चैत २०६४ मा १७ लाख नगदसहित हतियार चोरिएको घटना सार्वजनिक भएको थियो । उक्त चोरी प्रकरणमा श्रेष्ठको संलग्नता रहेको आरोप माओवादीले लगाएको थियो ।

२८ वैशाख २०६५ बिहान नारायणी नदीमा श्रेष्ठको शव भेटिएको थियो । उक्त घटनापछि श्रेष्ठकी श्रीमती रमिला श्रेष्ठले आफ्ना पतिको अपहरण गरी हत्या भएको भन्दै किटानी जाहेरी दिएकी थिइन् ।

गोविन्दबहादुर बटालासहित तत्कालीन ‘जनमुक्ति सेना’ तेस्रो डिभिजनका कमान्डर कालीबहादुर खाम, केशव अधिकारी, गंगाराम थापा र अर्जुन कार्कीलाई घटनामा संलग्नताको आरोप लगाउँदै जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा चलाइयो । उक्त मुद्दाको १७ जेठ २०६८ मा फैसला भएको थियो ।

जिल्ला न्यायाधीश भोजराज अधिकारीको इजलासले उक्त फैसलामा बटालालाई तीन वर्ष कैद र खाम, अधिकारी र थापा फरार रहेको मुद्दा अदालतले मुल्तबीमा राखेको थियो । मुद्दा चलेदेखि नै खाम अदालतमा उपस्थित भएका थिएनन् ।

१५ वर्षदेखि प्रहरीको फरार सूचीमा रहेका खाम लामो समयदेखि माओवादी केन्द्रकै संरक्षणमा रहँदै आएका थिए । फरार रहेका खामलाई माओवादी केन्द्रले केन्द्रीय विभागको सदस्य बनाएको थियो । माओवादी सशस्त्र विद्रोहमा खामको नाम एउटा सफल र साहसी सैन्य कमान्डरका रूपमा परिचित थियो ।