Swornakshar Logo

डीएसपी ठगबहादुरले घुस खाएको विशेष अदालतको ठहर, दुई वर्ष कैदको फैसला

काठमाडौं । सनुचाँदी व्यवसायीसँग घुस लिएको आरोप लागेका नेपाल प्रहरीका तत्कालीन डीएसपी ठगबहादुर केसी दोषी ठहर भएका छन् । उनलाई विशेष अदालतले मंगलबार दुई वर्ष कैद र आठ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ ।

विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायणसिंह राई र रीजेन्द्र थापाको संयुक्त इजलासले केसीलाई दोषी ठहर गरेको हो । इलाका प्रहरी कार्यालय बुटवलमा प्रमुख भएका बेला केसीले बरामद भएको सुन फिर्ता गर्ने क्रममा घुस मागेका थिए ।

त्यसपछि प्रहरी प्रधान कार्यालयले उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सुरुमा निलम्बन र पछि बर्खास्त गरेको थियो । केसीलाई अवैध सुनसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्रेको थियो ।

सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न भन्दै आएको सीआईबीको टोलीले केसीको निवासमा खानतलासी गर्दा लाखौँ नगद र ३५ तोला सुनसमेत बरामद गरेको थियो ।