Bagmati Samachar Logo

भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा अखिल क्रान्तिकारीले १० लाख सहयोग गर्ने

काठमाडौँ । जाजरकोट केन्द्र बिन्दु भएर शुक्रबार गएको भूकम्प प्रभावितलाई राहत र पुनर्निर्माणमा अखिल क्रान्तिकारीले १० लाख दिने भएको छ ।

मंगलबार काठमाडौमा बसेको संगठनको कार्यालयको बैठकले आफ्नै संगठनका सदस्यहरुसँग आन्तरिक रुपमा रकम संकलन गरेर भूकम्प पीडितहरुलाई सहयोग गर्ने निर्णय गरेको हो।

आर्थिक संकलनका लागि संगठनको कार्यालय टिम, पदाधिकारी, सदस्यहरुको लागि फरक–फरक मापदण्ड बनाइएको छ। रकमका लागि केन्द्रीय सदस्यदेखि अध्यक्षसम्मले तोकिएको र सबैले अनिवार्य रुपमा बुझाउनु पर्ने उपाध्यक्ष मदन भुलले जानकारी दिए।

भूकम्प गएलगत्तै अखिल क्रान्तिकारी प्रभावित क्षेत्रमा उद्धार, राहतमा लागेको छ भने काठमाडौंमा साता व्यापी रक्तदान गत आइतबारबाट सञ्चालन गरिरहेको छ,’ उनले भने, ‘उपाध्यक्षत्रय पवन कार्की, म र अम्मरजंग शाहीको कमाण्डमा १०० जना नेता कार्यकर्ता जाजरकोट रुकुम र काठमाडौमा क्रियाशील छौं।’

त्यसैगरी उपाध्यक्ष द्वय मदन भुल र अम्बरराज शाहीको कमाण्डमा स्वयंसेवक टोली बनाएर भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ । भुल नेतृत्वको १०० जना टोली रुकुम पश्चिम पठाइएको छ भने शाहीको टोली जाजरकोट खटिएको छ । उनीहरू एक महिनासम्म प्रभावित क्षेत्रको पुनर्निर्माण खटिने शर्माले जानकारी दिए । भूकम्पमा परी यी दुई जिल्लासहित आसपासका ८ जिल्लामा जनधनको क्षति भएको थियो । तीमध्ये जाजरकोट र रुकुम पश्चिमका १५३ जनाले ज्यान गुमाएका छन् । ३४० जना घाइते भएका छन् ।