Swornakshar Logo

६० किलो सुन तस्करी प्रकरण : किशोर बस्नेत भारतबाट पक्राउपरेसँगै पक्राउ पर्नेको संख्या २५ पुग्यो

काठमाडौँ । हङकङबाट ‘रेडी ट्रेड प्रालि’को नाममा तस्करी गरेर ल्याएको तस्करीको ६० किलो ७१६ ग्राम सुनसुन त्रिभुवन विमानस्थल भन्सार गेट बाहिरबाट राजस्व अनुसन्धान विभागले साउन ३ मा बरामद गरेको थियो । सो सुन मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर काठमाडौँ ल्याइएको हो । प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । सुन तस्करीमा संलग्न दावा छिरिङका सहयोगी भनिएका किशोर बस्नेत भारतको नयाँ दिल्लीबाट पक्राउ परेका हुन् ।

उनलाई बुधबार काठमाडौँ ल्याइएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एक अनुसन्धान अधिकृतले जानकारी दिए । बस्नेतले सामान खरिद गरेर सुन लुकाएर तस्करीमा सहयोग गर्ने गरेका दावाले बताएका थिए । बस्नेत सिन्धुपाल्चोकका स्थायी बसिन्दा हुन् ।

यहि प्रकरणमा आजै पाल्पा घर भएका गणेश पौडेल पनि पक्राउ परेका थिए ।

सुन प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या २५ पुगेको छ । सुन प्रकरणमा अहिलेसम्म पक्राउ पर्नेहरूमा राम कुमार भुजेल, दिलीप भुजेल, हर्कराज राई, थाप्तेन छिरिङ, राजेन्द्र राई, अशोक लामा, जीक्वाङ लिन, राजन श्रेष्ठ, पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, यादव पराजुली, सुदर्शन गौतम, सन्तोष चन्द, कुमार ढकाल, सरोज श्रेष्ठ, सुरेन्द्र तामाङ, दावा छिरिङ, टीयान मि, वेन तोङ, डीङ सेग्फा, ली–नेङकाई, याओ पुचेङ्ग, ली वेन सुङ्ग र गणेश पौडेल छन् ।

बरामद सुन संगठित तरिकाले तस्करी भएको भन्दै राजस्व अनुसन्धान विभागले अनुसन्धानको जिम्मेवारी साउन २१ मा सीआईबीलाई हस्तान्तरण गरेको थियो । ब्यूरोले अनुसन्धान सुरु गरेपछि चिनियाँ नागरिक बस्ने डेरा र गोदाम सहित १० ठाउँमा छापा मारिएको थियो ।

सुन तस्करीबारे अनुसन्धान गर्न प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरिएको छ । बज्राचार्य सीआईबीकी निर्देशक हुन् ।