Swornakshar Logo

तस्करीकाे सुन गालेपछि घट्यो, वास्तविक तौल ६० किलो ७१६ ग्राम

काठमाडौँ । राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन राष्ट्र बैंकले आज मंगलबार गालेर तौल गरेको । गालेपछिको सुनको कुल वास्तविक तौल ६० किलो ७१६ ग्राम कायम भएको राष्ट्र बैंकका एक अधिकृतलेजानकारी दिए ।

साउन ३ मा राजस्व विभागले भन्सारबाट बाहिर आएको सुन बरामद गरेरको थियो । उक्त सुन गाल्न र तौल लिने प्रयोजनका लागि राष्ट्र बैंकको टक्सार महाशाखालाई जिम्मा लगाएको थियो । राष्ट्र बैङ्कले केन्द्रीय अनुसन्धान ब्युरोका अधिकृतहरूलाई रोहबरमा राखेर मंगलबार सुनको वास्तविक तौल सार्वजनिक गरेको हो ।

टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यका अनुसार सोमबार ब्रेक प्याडबाट अलग गर्दा सुनको तौल ६० किलो ७८९ ग्राम भएको थियो । त्यसपछि बाल्दा परिमाण केही ग्राम घटेर वास्तविक तौल ६० किलो ७१६ ग्राम कायम भएको हो ।

सोमबारदेखि राष्ट्र बैंकले सुन ब्रेक प्याडबाट अलग गर्ने र गाल्ने प्रक्रिया सुरु गरेको थियो ।

असार ३० मा हङकङकबाट क्याथे प्यासिफिकको उडानमार्फत आएको सुन ‘रेडी ट्रेड प्रालि’ले मगाएको खुलेको थियो । १६० वटा ‘ब्रेक प्याड’ मा छिपाएर सुन काठमाडौँ ल्याइएको थियो । सुन सहितको ब्रेक प्याडको तौल १५५ किलो थियो ।

सुन तस्करीमा संलग्न आशङ्कामा हाल १७ जना हिरासतमा छन् । केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआईबी’ले सङ्गठित तस्करी विरुद्धको कसुरमा आरोपितहरू विरुद्ध अनुसन्धान गरिरहेको छ ।