Swornakshar Logo

राजस्व अनुसन्धानले एक क्विन्टल भन्दै आएको सुन जोख्दा ६० किलो ७८९ ग्राम

काठमाडौं । राजस्व अनुसन्धान विभागद्वारा सिनामंगलबाट बरामद गरिएको सुन ६० किलो ७८९ ग्राम भएको छ । ब्रेक शुमा तस्करी गरिएको सुन आज २९ सानमा जोखिएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले उक्त सुन जोखेको हो ।

सुनको तौल ६० किलो ७८९ ग्राम रहेको टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यले जानकारी दिए । महाशाखाले ब्रेक शुबाट सुन छुट्याएर जोखेको हो ।

विभागले त्रिभुवन विमानस्थलबाट पास भइसकेको अवस्थामा ब्रेक शुमा लुकाएर ल्याइएको सुन बरामद गरेको थियो । ब्रेक शुसहितको सुनको तौल भने १५५ किलो थियो ।

आइतबार राजस्व अनुसन्धान विभाग, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र टक्सार कार्यालयका प्रतिनिधिको रोहवरमा सुन जोखिएको हो । सुरुमा विभागले यो प्रकरणको अनुसन्धान गरेकोमा पछि सीआईबीलाई अनुसन्धानको जिम्मा दिइएको थियो । सुन गालेर जोख्न भने बाँकी रहेको बताइएको छ । राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले सुन करिब एक क्विन्टल भएको बताउँदै आएका थिए । तर, उनको दाबी विपरीत सुनको तौल झण्डै आधा भएको पाइएको हो ।