Swornakshar Logo

प्रेम आचार्य आत्मदाह प्रकरणमा प्रहरीले लियो भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङसँग बयान

काठमाडौं । प्रहरीले प्रेमप्रसाद आचार्यको आत्मदाह प्रकरणमा बयान लिन सुरु गरेको छ । गत साताको मंगलबार संघीय संसद् भवनअगाडि आफैँलाई पेट्रोल छर्केर आचार्यले आत्मदाह गरेका थिए । उनको दोस्रो दिन मृत्यु भएको थियो । उनले आत्मदाह गर्नु बाध्य पारेका विभिन्न व्याक्तिको नाम लेख्दै लामो फेसबुक स्टाटस लेखेका थिए ।

सोही स्टाटसको आधारमा आचार्यका आफन्तले जिल्ला प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दिएका थिए । सोही जाहेरीमा परेकाहरूको बयान काठमाडौं प्रहरीले लिन थालेको हो ।

सोमबार काठमाडौं प्रहरीले आचार्यले लेखेकामध्ये भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग बयान लिएको छ । उनीसँग करिब ३ घण्टा बयान लिएको प्रहरीले जनाएको छ ।

गुरुङलगायत सुजुकी शोरुमका सञ्चालकसँग पनि प्रहरीले बयान लिएको छ । आचार्यले आफ्नो फेसबुक स्टाटसमा सुजुकी शोरुम थापाथलीको पनि नाम उल्लेख गरेका थिए ।

ुहामीले प्रेमप्रसाद आचार्यले लेख्नुभएको फेसबुक स्टाटसका बारेमा सोधपुछ थालेका हौँ । त्यही सिलसिलामा मीनबहादुर गुरुङ र सुजुकी शोरुमका सञ्चालकसँग सोधपुछ गरेका हौँ,ु काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले भने, ुयो प्रक्रिया जारी रहन्छ ।ु

प्रहरीका अनुसार यो प्रकरणमा अन्यको पनि बयान लिने क्रम जारी छ । इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यले विभिन्न व्यवसाय गर्दा आफूले पाउनुपर्ने रकमसमेत नदिएर मर्न बाध्य पारेको उल्लेख गरेका थिए ।

पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका आचार्यलाई प्रहरीले उद्धार गरेर अस्पताल पुर्‍याएको थियो । तर, बुधबार बिहानै कीर्तिपुर बर्न अस्पतालमा उनको मृत्यु भएको थियो ।