Swornakshar Logo

बारले भन्यो– संसद् सचिवालयको पत्र कार्यान्वयन नगर, महासचिव गौतमलाई कारबाही गर

काठमाडौं । नेपाल बार एसोसिएसनले संसद् सचिवलायले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोग निष्प्रभावी भएको भनी पत्र लेख्ने महासचिव डा. भरत गौतममाथि कारबाही गर्न माग गरेको छ । सार्वभौम संसद्को क्षेत्राधिकारमाथि एक कर्मचारीले हस्तक्षेप गरेको भन्दै कारबाहीको माग गरिएको बताएको छ ।

सचिवलायको पत्रपछि बारको बुधबार आकस्मिक बैठक बसेको थियो । बैठकपछि विज्ञप्ति जारी गर्दै बारले सचिवालयको सो पत्र कार्यान्वयन नगर्न सम्बद्ध निकायलाई आग्रह गरेको छ । साथै पत्र लेख्ने संसद् सचिवालयका महासचिव भरतराज गौतममाथि कारबाही गर्न पनि बारले माग गरेको छ ।

बारले अविछिन्न उत्तराधिकारवाला सार्वभौम संसद्को मूल्य र मान्यताविपरीत आफ्नो पदीय हैसियतको ख्याल नगरी एक कर्मचारीबाट सार्वभौम संसद्को क्षेत्राधिकारमाथि हस्तक्षेप गरी निलम्बित प्रधानन्यायाधीश राणाको निलम्बन निष्प्रभावी भएको पत्र लेखेको जनाएको छ ।

बारले यो पत्र लेख्नु, नियम कानुनको उल्लंघन भन्दै आपत्तिसमेत प्रकट गरेको छ ।