Bagmati Samachar Logo

नेपाल आउन पाउँदा खुसी छु : भारतीय प्रधानमन्त्री मोदीले

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार बिहान नेपालको लुम्बिनी आइपुगेका छन्। मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले लुम्बिनीमा स्वागत गरेका छन्।

लुम्बिनी उत्रिएलगत्तै भारतीय प्रधानमन्त्री मोदीले न्यानो स्वागतका लागि प्रधानमन्त्री देउवालाई धन्यवाद दिएका छन्।

‘नेपालका अद्भूत ‘बुद्ध पूर्णिमाको विशेष अवसरमा नेपालका अद्भूत जनतामाझ आउन पाउँदा खुसी छु। लुम्बिनीमा हुने कार्यक्रममा सहभागी हुन प्रतिक्षारत छु’ उनले ट्विटमा भनेका छन्।

प्रधानमन्त्री देउवाको निमन्त्रणामा मोदी लुम्बिनी आएका हुन्। उनको यो औपचारिक भ्रमण हो।

प्रधानमन्त्रीको हैसियतमा मोदीको यो पाँचौ नेपाल यात्रा हो। मोदी ६ घण्टा लुम्बिनीमा रहनेछन्।

मोदीले केही बेरमा प्रधानमन्त्री देउवासँगै विशेष पूजाआजा गर्ने कार्यक्रम छ। त्यसपछि दुई प्रधानमन्त्रीले भारतीय सहयोगमा बन्ने बौद्ध सांस्कृतिक केन्द्रको शिलान्यास गर्नेछन्।

लुम्बिनी आउने मोदी पहिलो भारतीय प्रधानमन्त्री हुन्।

विगतमा भारतीय प्रधानमन्त्रीहरु नेपाल यात्राका क्रममा पशुपति र पोखराको भ्रमणमा जाने गरे पनि लुम्बिनी, मुक्तिनाथ र जनकपुर चाहिँ जाने गर्दैनथे। नेपालका यी सबै धार्मिक स्थल भ्रमण गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री बनेका छन्।