Bagmati Samachar Logo

आजदेखि ६३७ स्थानीय तहबाट मतदाता नामावली संकलन

काठमाडौं । आज शुक्रबारदेखि निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्यक्रम सुरु गरेको छ । मतदाता नामावली संकलनको काम ६३७ स्थानीय तहका केन्द्रबाट मतदाता नामावली दर्ता गराउन सकिने निर्वाचन आयोगले जानकारी दिएको छ ।

अहिले पनि ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलनको काम निरन्तर रहनेछ ।

मतदाता नामावली संकलन हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म र तराई, भित्री मधेस तथा काठमाडौं उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन हुनेछ ।

आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था रहेको आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । आगामी निर्वाचनको मिति घोषणा हुनुभन्दा अगावै मतदाता नामावली दर्ताको काम टुंग्याउने आयोगको तयारी छ । १२ माघमा राष्ट्रियसभाको चुनाव गर्ने तयारी छ ।

१६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकको मतदाता नामावलीको विवरण संकलन हुनेछ भने आयोगले तोकेको मितिमा १८ वर्ष उमेर पूरा गरेका नागरिकको नाम मतदाता नामावलीमा समावेश गरिनेछ ।

ुआफ्नो स्थायी ठेगाना रहेको जिल्लास्थित निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट नाम दर्ता गर्न मिल्छ भने साविकको व्यवस्था हुँदा हुँदै विभिन्न रोजगारी वा अध्ययनको सिलसिलामा आफ्नो जिल्ला बाहिर रहेका नागरिकलाई समेत सहज रूपमा मतदाता दर्ता प्रकृयामा सहभागी गराउन जिल्लामा स्थायी ठेगाना रहेका नागरिकहरूको समेत मतदाता नामावली संकलनको कार्य सुरु हुँदैछ ।

यसरी अन्य जिल्लाको निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता गराएका व्यक्तिको नाम निजको स्थायी ठेगाना रहेको मतदाता नामावलीमा समावेश हुने गरी सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयमा पठाइनेछ । साथै निजको मतदाता परिचयपत्र समेत स्थायी ठेगाना भएको जिल्लाबाटै प्राप्त गर्ने व्यवस्था मिलाइनेछ ।

विशेष कार्यक्रममा देशभर करिब २ हजार ३ सय कर्मचारी प्रत्यक्ष रूपमा संलग्न हुनेछन् । २० पुसभित्र सबै स्थानीय तहमा मतदाता नामावलीको संकलन कार्य सम्पन्न भइसक्नेछ ।