Bagmati Samachar Logo

पार्टी कार्यलय सार्दै एमाले , सम्भावित कार्यलय थापाथली हुनसक्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले धुम्बाराहिबाट पार्टीको केन्द्रीय कार्यालय सार्ने भएको छ ।
हाल पार्टीको केन्द्रीय कार्यालय रहेको धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानले भवन खाली गर्नु पर्ने भएपछि एमालेले नयाँ ठाउँ खोजिरहेको पार्टी कार्यलयका सचिव इश्वरी रिजालले बताए ।

‘धुम्बाराहिको कार्यालय सार्नु पर्ने भएको छ । कहाँ सार्ने भन्ने विषयमा कुनै निर्णय भएको छैन,’ उनले भने, ‘नेतृत्व तहबाट ठाउँ खोजिँदैछ । पासाङ ल्हामु स्मृति प्रतिष्ठान खाली गर्न भनिएको छ ।’

एमालेले पार्टी कार्यालय थापाथली हाइटमा सार्ने तयारी रहेको बताइएको छ । थापाथलीमा कुराकानी भइरहेको एक नेताले बताए । ती नेताका अनुसार कुरा मिलेमा छिटै पार्टी कार्यलय धुम्बाराहीबाट थापाथली सर्ने छ ।

एमालेको स्थायी पार्टी कार्यलय मदननगर बल्खुमा छ । तर २०७२ मा गएको भूकम्पले पार्टी कार्यालय भत्काएपछि एमालेले धुम्बाराहीमा रहेको पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा सारेको थियो । सुरुमा मासिक एकलाख ५० हजार भाडा तिरेको थियो । पछिल्लो समय दुई लाख २५ हजार भाडा तिर्दै आएको रिजालले बताए । नेकपा हुदै गत बर्ष माघमा बसेको केन्द्रीय कमिटी बैठकले १५ दिन भित्र पार्टी कार्यलय बल्खुमा शिलान्यास गर्न भनिएको थियो । तर १५ दिनमा शिलान्यास नभएपछि कोरोनाका कारण कार्यलय बनाउने काम त्यतिकै थन्केको थियो ।

५ पुसमा प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा नै सत्ता पक्ष र प्रतिपक्ष जस्तो भएको थियो । एक पक्ष सत्तामा र अर्को पक्ष सडकमा आन्दोलन गदै थियो । २३ फागुनको सर्वोच्चको फैसलाले एमाले र माओवादी केन्द्र ब्युताइ दियो । त्यसपछि एमालेको एमालेको शनिबार बसेको केन्द्रीय कमिटी बैठकले वैशाख ९ गते बल्खुमा पार्टी कार्यालय शिलान्यास गर्ने निर्णय गरेको छ ।