नेपाल बाल संगठन जुम्ला: न हिसाब किताब न त बैठकका माइनुट
दिलमाया शाही
जुम्ला । बालबालिकाको हितका लागि स्थापित नेपाल बाल संगठनको हिसाब किताब र बैठक बसेका माइनुट नै छैन भन्दा अचम्म लाग्न सक्ला । तर अचम्म नमान्नुहोस् , जुम्ला जिल्लामा स्थापित पुरानो संस्था हो नेपाल बाल संगठन । यसले बालबालीकाको हक हितकालागि काम गर्छ । तर यस्तो पवित्र संस्थामा पनि अनियमिता हुन्छ भन्दा झन अचम्म लाग्न सक्छ । तर यो संगठनमा भएकोा नै त्यस्तै छ । नत यसको कार्य समितिले बैठक बसेको माइनुट नै राखेको छ । नत हिसाव किताब नै छ । संगठनको रुपमा केबल एक भवन र पु्स्तकालयका नाममा पुराना किताव मात्रै छन् ।
बाल संगठनको जिल्ला कार्य समितिको मिलोमतोमा अनियमितता भएको देखिएको छ । निवर्तमान सभापति जयबहादुर खत्रीसंग एक दुई लेटर प्याड र बिलको ठेली मात्र छन् । सभापति खत्रीले भने, ‘बल्ल बैठक बस्ने र माइनुट बनाउने काम भइरहेको छ । अघिल्ला बर्षहरुको सार्वजनिक लेखापरिक्षण रिर्पोट र आयव्यय रिपार्ट नै छैन ।’
बाल संगठनका स्वामित्वमा रहेको आफ्नै जग्गा छ । जग्गामा २६ कोठे भवन छ । त्यो भवनमा धेरै टहरा छन् । टहरा र भवन भाडाबाट महिनामा लाखौँ रुपैयाँ उठ्ने गरेको स्थानीय बताउछन् । तर अहिलेसम्म बाल संगठनको कुनैपनि हिसाब किताब नभएको स्थानीयले आरोप लगाउने गरेका छन् । स्थानीयको आरोप छ कि ‘संगठनको हिसाब किताब राख्नु भन्दा पनि पदाधिकारीबाटै हिसाब किताबको दुरुपयोग भइरहेको छ ।’
नेपाल बाल संगठनको विधान २०४९ को धारा १६(२)(ङ) मा संगठनको जग्गामा ठेक्का पट्टा वा व्यवहारमा हिस्सा लिन बन्देज गरिएको छ । यस्तो कार्य गरेमा पदाधिकारी तथा सदस्यहरुको कार्यकाल समाप्त हुने विधानमा स्पष्ट प्रावधान रहेको छ ।
बाल संगठनको खातामा महिनामा ४० हजार रुपैँया र पुस्तकालयको खातामा ६० हजार रुपैयाँ जम्मा गर्ने गरि सम्झौता थियो । त्यो सम्झौता कहाँ छ भन्ने बिषयमा कसैलाई जानकारी छैन । कर्मचारीले मनोमानी रुपमा भाडा उठाउँछन । नयाँ आउने पदाधिकारीले नयाँ खाता खोलेर रकम जम्मा गर्ने गरेको भेटिएको छ ।
बाल संगठनका पुर्व सचिव गौरीनन्द आचार्य भवन बनाउने बेला देखि नै भएको अनियमितता बारेमा आवाज उठाएको बताउँछन । उनले भने, ‘भवन निर्माणको लागि ल्याएकोे काठले ब्यक्तिगत घर बनेको रहेछ । उतिबेला खासै थाहा भएन । पछि बुझदै जादा थाहा भयो । त्यो काठ त ट्याक्टर बाट व्यक्तिको घरमा पुगेको रहेछ ।’
जुम्ला बाल संगठन स्थापना भएको ५० बर्ष नाघिसकेको छ । तर बाल संगठन न बालबालिकाको हकहितका लागि वकालत गरेको छ । नत बालबालिका मैत्री कार्यक्रम नै । उल्टै सिमित व्यक्तिको राम्रो आम्दानीको स्रोत बनेको छ । पदाधिकारी धनि छन । बालसंगठन निकै गरिब छ ।
गैर सरकारी संस्था महासंघ जुम्लाका पुर्व अध्यक्ष दुर्गाप्रसाद पाण्डे बाल संगठन ब्यक्तिकरण हुदै गएको बताउँछन । उनले भने, ‘पदाधिकारीले सबै रकम हिनामिना गरेर जाँदा अहिले जीर्ण अवस्थामा रहेको छ । अहिले बालबालिका होटलमा भाँडा माझ्न बाध्य छन । बाल अधिकारको लागि काम गर्ने बाल संगठन भित्रको हिसाब किताब छैन । सामाजिक कार्यालयमा पहु्ँचवाला व्यक्तिको रजाइँ रहिरह्यो ।’
अनाथ, असहाय बालबालिकालाई गाँस, बास, कपास र शिक्षा प्रदान गर्न सिफारिस गर्नु यसको मुख्य काम हो । तर बाल बालिकालागि काम नगर्ने र उठेको रकम खाने प्रवृत्तिले बाल संगठन लैनो भैसी सावित भएको पाण्डेले बताए ।
कहिले पनि सार्वजनिक सुनाई भएको छैन । बालसंगठन छ भन्ने थाहा कार्यसमिति बाहेक कसैलाई छैन । भवनको भाडामा कार्यसमितिको मिलोमतो चलिरह्यो । जुम्लाका युवा धनराज सुनार भन्छन, ‘बाल संगठन छ, भन्ने कुरा नागरिकलाई थाहा छैन । समाजको लागी अगुवाको भुमिका निर्वाह गर्ने हामी युवालाई समेत थाहा छैन ।’
बाल संगठनको ढोका , कर्मचारीलाई तलब खाने बेला बाहेक अघिपछि खुलेको नदेखेको स्थानीय बताउछन् । भवन र टहराबाट न्यूनतम ५ सय र अधिकतम १८ हजार रुपैयाँसम्म भाडा उठ्छ । व्यवसायीहरुले नियमित भाडा दिएका छन । वार्षिक हिसाब गर्दा एक वर्षमा १२ लाख ९१ हजार ८ सय ६० रुपैयाँ हुन आउँछ ।
पदाधिकारीको मिलोमत्तोमा बजेट स्वाह
बालसंगठनमा रहेका पदाधिकारीको मिलोमतोमा नै यहाँ संकलन हुने रकम दुरुपयोग भइरहेको पाइएको छ । पहिलेका पदाधिकारी अहिले जनताबाट निर्वाचित जनप्रतिनिधि छन । तर यीनै अहिलेका जनप्रतिनितिहरु पहिले संगठनको नेतृत्वमा हुदा बढि अनियमितता भएकोे जुम्लाका नागरिक अगुवाहरु बताउँछन ।
सभापति खत्री आउनु भन्दा अगाडी चन्दननाथ नगरपालिकाका वडा नं. ४का वडाअध्यक्ष जगदिस चौलागाई सभापति थिए । चन्दननाथ नगरपालिकाका ५ का वडाअध्यक्ष अजुर्नसिंह कठायत कार्य समितिमा थिए । यीनै दुइ जनाको नाममा बैकमा खाता चल्थ्यो ।
त्यो भन्दा अगाडि कर्णाली पुस्तकालयका अध्यक्ष रतननाथ योगी थिए । उनी हाल तिला गाउँपालिकाका अध्यक्ष हुन् । उनको कार्यकालमा सबैभन्दा बढि अनियमितता भएको चन्दननाथ ५ का वडाध्यक्ष अर्जुनंिसह कठायत बताउँछन ।
स्थापना कालदेखि लामो समयसम्म बाल संगठनको केन्द्रीय सदस्य रहेका विष्णुबहादुर शाही बाल संगठनको अध्यक्ष बने ।
अहिले सम्मका सबै पदाधिकारीको मिलामतोमा यहाँको बजेट सकिएको आरोप जुम्लाबासीको छ ।
नियमनकारी निकाय मौन छ । नेता कार्यकता उनीहरुको संरक्षणमा लागेका छन । स्थानीयले भने, ‘अब हिसावकिताव गरेर दोषिलाई कार्वाही गर्नु पर्छ ।’
खाचोछ त केवल समान्य नागरिकलाई छ , तर नियमनकारी निकाय मौन बस्दा यस्ता खालका व्यक्तिको संरक्षण भएको छ । चन्दननाथ नगरपलिका वडा नं. ५ का वडा अध्यक्ष अर्जुन सिहं कठायतले यसअघि कर्णाली पुस्तकालयका पुर्व अध्यक्ष रतन नाथ योगीले कुनै अडिट नगरेको बताए । उनले भने, ‘उनको पालाका भएका कुनै पनि कागजात हामीलाई दिएका थिएनन । न कागजात थिए । न त बजेट । बरु हामीले उठेको रकम सदुपयोग गरेका छौ ।’
आक्रोश पोख्दै वडाध्यक्ष कठायतले भने, ‘यो नियतबस समाचार लेखेको छ । यो अनावश्यक कुरा हो कुनै अनियमितता भएको छैन । ’
तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले आफु जिल्ला बाहिर रहेको बताउँदै आएपछि भेटेर छलफल गर्ने प्रतिक्रिया दिए । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बाल बालिकाको क्षेत्र संवेदनशिल भएको बताउँदे कसैले पनि खेलबाड गर्न नपाउने बताए ।
उनिहरुको हकअधिकारको क्षेत्रमा काम गर्ने निकाय राम्रो हुनुपर्छ भन्ने नै हो, प्रमुख जिल्ला अधिकारी थापाले भने, ‘प्रशासनले कुनै पनि गलत्त गर्ने व्यक्तिलाई संरक्षण गर्दैन सजाय गर्नका लागी पहल गर्छ । बालबालिकोको विकासमा आएको बजेट मिलोमतो भएको भन्ने बिषयमा हाम्रो ध्यानर्कषण भएको छ । नागरिकको गुनासा र उजुरी प्रशासनमा आएको खण्डमा तत्कालै छानबीन गर्छौँ ।’
प्रतिक्रिया दिनुहोस्: