काठमाडौं । १६ साउन । बारामा जिल्लामा आइतबारदेखि निषेधाज्ञा लागु हुने भएको छ। शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना जारी नहुञ्जेल आइतबार बिहान ५ बजेबाट लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालय बाराले सूचना जारी गर्दै आइतबारबाट अत्यावश्यक कामबाहेक कोही पनि नागरिक भेला हुन वा घरबाट बाहिर निस्कन नपाउने भनेको छ।
ुपर्सा तथा बारा जिल्ला जोड्ने हुलाकी लोकमार्गमा पर्ने सबै स्थानीय तहहरू, कलैया बजार क्षेत्र, पथलैया वीरगन्ज औद्योगिक कोरिडोरमा पर्ने जीतपुर, सिमरा, पथलैया, परवानीपुर, नितनपुर, निजगढ, कोल्हवी, सिम्रौनगढ, वरियापुर लगायत अत्याधिक भिडभाड हुने तथा हाटबजार लाग्ने ग्रामिण क्षेत्रमा निषेधाज्ञा जारी गरिने सूचनामा भनिएको छ।
त्यस्तै अत्यावश्यक सेवाका लागि दैनिक प्रयोग हुने सवारी जस्तै विद्युत, खानेपानी, खाद्यान्न, दूध, ग्यास, औषधि, एम्बुलेन्स बाहेक अन्य सवारी साधनहरू पूर्ण रूपमा बन्द गरिने छ।
साथै भारतसँग जोडिएका सीमा नाकाहरूमा आवतजावत पूर्ण रूपमा बन्द गर्ने भनिएको छ।
विराटनगरमा पनि शनिबारबाट लागू हुने गरी दुई साताको लागि लकडाउन घोषणा गरिएको छ। संक्रमण समुदायमा फैलिएको भन्दै विराटनगर महानगरपालिकाले दुई साता लकडाउन गर्ने निर्णय गरेको हो।












प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…