सरकारको विकल्प खोज्नुको विकल्प छैन्, हामी समयको पखाईमा मात्रै छौः मिन विश्वकर्मा

काठमाडौं । १० साउन । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीन बहादुर विश्वकर्माले नेकपाको नेतृत्वको सरकारको विकल्प खोजिनुपर्ने बताएका छन् ।
वर्तमान सरकार चौतर्फी रुपमा असफल भएको दाबी गर्दै उनले सरकारको विकल्प खोज्नुपर्ने समय आएको बताए ।
काठमाडौंमा भएको एक कार्यक्रममा उनले भने, ‘सरकार कहाँ छ ? सरकार कहीँ पनि देखिएको छैन् । नेपालको सीमानाभित्र नेपाल सरकार छैन् । सरकार हामीभन्दा बाहिर छ । अहिले यत्रो बाढी÷पहिरो गएको छ, कोरोनाको महामारी छ, हत्या, हिंसा, बलात्कार, एसिड आक्रमणजस्ता घट्ना घटेका छन्, तर सरकार कहीँ पनि छैन् ।’
उनले भने,‘जनता दुःख र पीडामा छन्, तर प्रधानमन्त्री बालुवाटारमा बसेर अब आँशु झार्नु पर्दैन् र कोही भोकै मर्नुपर्दैन् भनेर कविता लेख्नुहुन्छ । जनतालाई प्रधानमन्त्री बालुवाटारमा छन् भन्ने कुरा थाहा छ, तर सरकार कहाँ छ भन्नेबारे केही थाहा छैन् ।’
सत्तारूढ दलभित्रबाटै प्रधानमन्त्री ओलीको विकल्पको खोजि भैरहेकोले सरकारको विकल्प खोज्नुको विकल्प नभएको उनको भनाई छ । सरकारको विकल्प खोज्नेबारे बल सत्तारूढ नेकपाकै कोर्टमा रहेको उनले बताए । उनले भने, ‘कहिले काहीँ हामी सञ्चारमाध्यमबाटै देख्छौं–यो सरकार नेपालभित्र नभएर बाहिर पो छ कि ? किनकी बाहिरका मान्छे आएर यो सरकार टिकाइदिने, बाहिरका मान्छे आएर सत्तारुढ दलको अविश्वासको प्रस्ताव रोकिदिने ? बाहिरको मान्छे आएर प्रधानमन्त्रीको आयु लम्ब्याइदिएको देख्दा सरकार हामीसँग छैन् । सरकार हामीभन्दा बाहिर छ कि जस्तो अनूभुति हुन्छ ।’
रुकुमपश्चिमको नरसंहार, युवतीमाथि एसिड आक्रमणदेखि चितवनको राष्ट्रिय निकुञ्जमा सेनाले मान्छे मारेको घट्ना कतैपनि सरकार नदेखिएको उनको गुनासो छ ।
सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव ल्याउँदै गर्दा वैकल्पिक प्रधानमन्त्रीको नाम पनि उल्लेख गरेर प्रस्ताव ल्याउनुपर्ने संवैधानिक प्रावधान सुनाउँदै विश्वकर्माले भने,‘स्पष्ट बहुमतको साथ रहिरहेको सरकारको विकल्पको खोजि गर्ने जिम्मा पहिलो त सत्तारुढ दलकै हो । उहाँहरु अर्को प्रधानमन्त्रीको खोजिमा आफैं लाग्नुभएको छ । आफैं त्यहाँ अर्को प्रधानमन्त्रीको खोजि गर्ने निश्कर्ष निस्किसकेपछि आम जनताको तर्फबाट वैकल्पिक सरकार खोज्ने कुरामा प्रमुख प्रतिपक्षी दल पछाडि पर्दैन् । हामी समयको पर्खाईमा मात्रै छौं ।’
उनले शक्ति पृथकीकरणको सिद्धान्तबमोजिम संविधानमै आफूहरुले स्वतन्त्र न्यायापालिकाको कल्पना गरेको र उसले दिर्ने निर्देशन, गर्ने फैसला र निर्णयलाई अक्षरंश पालना गर्ने कुरा संविधानमै प्रत्याभुति गरिएको बताए । तर, न्यायालयबाट गैर–न्यायिक, गैरकानूनी र गैरसंवैधानिक फैसला आउँछ भने जनताले फेरि कानून, संविधानको अक्षरमात्रै पढेर अन्याय सहेर नबस्नेपनि उनले चेतावनी दिए ।
रञ्जन कोइरालाको मुद्दाबारे सर्वोच्च अदालतले गरेको फैसलाप्रति उनले दुःख व्यक्त गरे । उनले भने,‘प्रधानन्यायाधीश सहितको संलग्नतामा भएको यो फैसला सरासर गलत हो । न्यायमूर्तिहरुले कानूनको अक्षरलाई अवमूल्यन गर्नुहुँदैन् ।’
नेता विश्वकर्माले पीडितले न्याय पाउनुपर्ने र पीडकले हदैसम्मको सजाय भोग्नुपर्ने बताए । पछिल्लो समय यस्ता घट्ना किन भैरहेका छन् भन्ने सवालमा उनले सरकारलाई दोष दिए । उनले भने,‘न्यायापालिका त्यस्तै, सेना त्यस्तै, प्रहरी त्यस्तै, किनकी सरकार आफैं अपराधीलाई कारबाही गर्दैन् । त्यही भएर देशमा कुशासन बढेको हो । समग्रमा यो सरकार असफल भयो । यसको विकल्प खोज्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस्: