सुदूरपश्चिम प्रदेशसभामा बजेटमाथिको छलफल सुरु, विपक्षीको विरोध जारी
काठमाडौं । २३ असार । सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु भएको छ । तर प्रतिपक्षी दलले विरोध जारी राखेको छ । मङ्गलबारको बैठकमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद हर्कबहादुर कुँवरले बजेटमाथि धारणा राखेका हुन् ।
उनले प्रदेश सरकारले ल्याएको बजेट उत्कृष्ट रहेको दाबी गरे । उनले भने, ‘यो बजेटले जनता र समाजको पक्षमा राम्रो प्रगति र उन्नत छ । सबै क्षेत्रलाई समेटेर ल्याएको छ ।’
कुँवरले सरकारले कार्यान्वयन गर्न सक्ने बजेट ल्याएको समेत बताए । ‘साना किसान, मजदुर र स्वास्थ्यमा राम्रो बजेट विनियोजन भएको छ ’उनले भने ‘यो बजेट पारित गरिनुपर्छ ।’
सांसद कुँवरले धारण राख्दै गर्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका सांसदहरूले रोष्टम घेराउ गर्दै नाराबाजी गरेका थिए ।
आइतबार आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले बजेट माथिको छलफल सुरु गर्न प्रस्ताव पेस गरेका थिए । आइतबार पनि प्रतिपक्षी दलले नाराबाजी गर्दै रोष्टम घेराउ गरेका थिए । मङ्गलवार कुँवरले धारणा राखेपछि अर्को बैठक बुधबार बिहान ८ बजे आह्वान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्: