Bagmati Samachar Logo

नेकपा स्थायी कमिटीको बैठक पर्सिसम्मलाई स्थगित

काठमाडौं । १८ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) स्थायी कमिटीको बैठक पर्सिसम्मका लागि स्थगित भएको छ । 

बिहीबारको बैठकको सुरुमा केशव बडाल र अमिक शेरचनले आफ्नो धारणा राखेका थिए । 

तर, त्यसलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बैठक बोलाए । मन्त्रीपरिषद बैठकले संसद विघटनको प्रस्ताव राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी गरेको जानकारीपछि स्थायी कमिटीको बैठक स्थगित गरेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विभिन्न छलफलमा सहभागी भएका थिए । 

सरकारले आजै संसदको चालू अधिवेशन अन्त्य गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत राष्ट्रपति विद्या भण्डारीसँग भेट गरेका थिए । 
त्यसपछि बालुवाटारमा फर्केपछि पुनः स्थायी कमिटीको बैठक बसेको थियो ।

बैठकमा पार्टी एकता गम्भीर संकटमा परेको भन्दै पार्टी एकतालाई हर हालतमा रक्षा र सुदृद्ध गर्नका लागि आपसी छलफल गर्नुपर्ने भन्दै बैठक पर्सि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

पार्टीको आन्तरिक समस्या समाधानका विषयमा भोलि दिनभर आन्तरिक गृहकार्य गरेपछि शनिबार ११ बजे पुनः स्थायी कमिटीको बैठक बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।