काँग्रेस बैठकमा नागरिकता विधेयकको विवादले झण्डै हात हालाहाल

निधिद्वारा बैठक बहिस्कारको प्रयासपछि यसरी भयो निर्णय
काठमाडौं । १७ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको जारी केन्द्रीय समिति बैठकमा नागरिकता विधेयकको विषयमा विपक्षमा उभिने निर्णय गरेको छ ।
मंगलबारको काँग्रेस केन्द्रीय कार्यासमिति बैठकबाट पार्टीभित्रको मत मतान्तरका बीच नागरिकता विधेयकको विपक्षमा उभिने ‘संस्थागत’ निर्णय भइसकेको छ ।
मंगलबार दिउँसो ३ बजेदेखि राति १० बजेसम्म चलेको केन्द्रीय कार्यसमिति बैठक उपसभापति विमलेन्द्र निधिको दबाब र प्रभावमा नागरिकता विधेयक फिर्ता हुनेपर्ने निष्कर्षमा पुगेको बताइएको छ ।
बैठकमा उसभापति निधिलाई वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलालगायतले बलियो साथ दिएपछि नागरिता विधेयकमा काँग्रेस पूर्ववत अडानबाट माथि उठ्न सकेन ।
र, नेपालीसँग बिहे गरेर आएका विदेशी महिलालाई वैवाहिक अंगीकृत नागरिकता दिनेसम्बन्धी प्रावधान संवैधानिक व्यवस्थाविपरित रहेको बैठकले ठहर गर्यो । नागरिकता विधेयकबारे बैठकको निर्णयको ड्राप्ट पनि नेता सिटौलाले गरेका थिए ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली पुरुषसँग विवाह गरेर आएका महिलालाई सात वर्षपछि अंगीकृत नागरिकता दिने प्रावधान राखेर विधेयक पारित गरेकोमा काँग्रेसको फरक मत छ ।
राज्य व्यवस्था समितिमा काँग्रेसका सांसदले वैवाहिक अंगीकृत नागरिकताका सम्बन्धमा फरक मत राखेका थिए ।
बैठकले उक्त प्रावधानले सामाजिक र पारिवारिक जटिलता समेत सिर्जना गर्ने सम्भावना रहेको ठहर पनि गरेको छ ।
बैठकले पार्टी निर्णयअनुसार संसदमा प्रस्तुत हुन काँग्रेस संघीय संसदीय दललाई निर्देशन समेत दिएको छ ।
काँग्रेसले वैवाहिक अंगीकृत नागरिकताबारे संवैधानिक व्यवस्थालाई टेकेर आफ्नो पोजिसन लिएको देखिन्छ । बैठकको निर्णयमा पनि त्यही भाष्य प्रयोग भएको पाइन्छ । तर, यो निर्णय त्यति सजिलै भने भएको होइन । यतिसम्म कि सभापति शेरबहादुर देउवाले समेत आफूले प्रकट गरेको मतमा समेत अडान लिन सकेनन् ।
एक नेताका अनुसार बैठकले देउवाको सोचभन्दा भिन्न निर्णय लिएको छ । ती नेताले भने, ‘पार्टी सभापतिजी मधेसको कुरा पनि सम्बोधन होस् र नागरिकताका सम्बन्धमा पहडातिरका मान्छेको पनि चित्त बुझ्ने बीचको निर्णय गर्न चाहनुहुन्थ्यो । उहाँलाई आफैले ट्वीटमार्फत उठाएको महिला र पुरुषबीचको समानताबारे केही गर्न पाए हुन्थ्यो भन्ने थियो ।’
ती नेताका अनुसार तर बैठकमा उसभापति निधि हाबी भए भने उनले मंगलबारको बैठकबाट जसरी पनि नागरिकता विधेयकमा आफूले उठाउँदै आएको कुरामा केन्द्रीय समिति बैठकबाटै निर्णय गराउने अड्डी कसे ।
नेकपाले नागरिकता विधेयक बुधबारको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा नराखेको मौकालाई हेरेर मंगलबारको बैठकबाट निर्णय लिने सभापति देउवाको सोच थिएन । त्यो कुरा उनले बैठकमा पनि राखे । ती नेताका अनुसार त्यसपछि निधिले देउवासँग आन्तरिक छलफल गर्न समय मागे । लगत्तै देउवा र निधि अलग्गै कोठामा छलफलका लागि गएका थिए ।
बैठक जारी रहेकै बेला देउवा र निधिबीच देउवाको कार्यकक्षमा चर्काचर्की नै भयो । त्यसपछि नागरिकता विधेयकबारे आजको बैठकबाट निर्णय नभए ‘बैठक छोडेर जान्छु’ भन्दै निधिले घुर्की लगाए । निधि पार्टी कार्यालयबाट बाहिरिन खोजेपछि मुख्य सचिव कृष्णप्रसाद पौडल लगायतले बोलाएर बैठक हलमा लगे ।
प्रतिक्रिया दिनुहोस्: