Bagmati Samachar Logo

नेकपा स्थायी कमिटी बैठकः ओली अनुपस्थिति प्रचण्डमाथिको भरथेग कि स्वास्थ्य समस्या ?

काठमाडौं । १४ असार । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ ।
१० असारदेखि सुरु भएको स्थायी कमिटी बैठक सुरु भएको ३ दिन भयो । यी तीन दिनमा पहिलो दिन नेकपाका अध्यक्षद्वय बोले । 

बैठकमा पहिला बोलेका प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालका कुरा पनि सुनेका थिए । पहिलो दिनको बैठक अध्यक्षद्वयका कुरा राखेर सकिएको थियो । 

यो स्थायी कमिटी बैठकमा कुनै राजनीतिक प्रतिवेदन पेस भएको छैन । बैठक बसेकै दिन ५ एजेण्डा प्रस्तुत गरेपछि स्थायी कमिटीका सदस्यले त्यसमाथि २ एजेण्डा थपेर ७ बनाएका छन् । 

एक दिन ग्याप राखेर १२ गते बसेको बैठकमा ओली सहभागी नै भएनन् । ‘बैठक सुरु गर्दै गर्नू, म आउँछु’ भनेका ओली दिउँसोसम्म पनि आएनन् । बैठकमा उपस्थित स्थायी कमिटी सदस्यहरूले अध्यक्षको खोजी गरेपछि महासचिव विष्णु पौडेलले ‘बैठक सञ्चालन गर्दै गर्नू, म आए भने आइहालेु भन्नुभएको छ’ भन्ने खबर सुनाए । तर, उनी किन उपस्थित भएनन् भन्ने कारण केही बताएनन् ।

बैठक सकिएपछि पत्रकारहरूको प्रश्न थियो, ‘अध्यक्ष तथा प्रधानमन्त्री किन बैठकमा आउनु भएन ?’ प्रवक्ता नारायणकाजी श्रेष्ठको जवाफ थियो, ‘बालुवाटारभित्रै अन्य काममा ब्यस्त भएका कारण बैठकमा आउन भ्याउनु भएन । बैठक सञ्चालन गर्न भन्नुभएको जानकारी महासचिवज्यूले दिनुभएको थियो ।’

नेकपाका २० जना स्थायी कमिटी सदस्यले स्थायी कमिटीको बैठक बोलाउन १० वैशाखमा अध्यक्षद्वलाई इमेलमार्फत पत्र बुझाएका थिए । नेकपाको विधानमा हरेक ३ महिनामा स्थायी कमिटी बैठक बस्नुपर्ने व्यवस्था छ। 

कमिटीका २५ प्रतिशत सदस्यले लिखित रूपमा बैठकको माग गरेमा माग गरेको १५ दिनमा बोलाउनुपर्ने व्यवस्था छ । तर, २० जना स्थायी कमिटीका सदस्यले लिखित माग गरेको ठीक २ महिनापछि बैठक बसेको छ ।

लिखित माग गर्दा पनि समयमा नबसेको स्थायी कमिटी बैठक २ पटक मिति तय भएर पनि स्थगित भएको थियो । 

लिखित, मौखिक र दबाबका बीच बल्ल बैठक त सुरु भयो तर विडम्बना १ बैठकमा उठेका विषय जसले सुन्नुपर्ने हो, उनै व्यक्ति नै बैठकमा आइदिँदैनन् । 

पार्टीका पहिलो नम्बरका अध्यक्ष केपी ओली नै बैठकमा उपस्थित हुँदैनन् । ६ महिनादेखि गुम्सिएका असन्तुष्टि सुनाउन आतुर स्थायी कमिटी सदस्य अध्यक्ष ओली बैठकमा उपस्थित नहुँदा आक्रोशमा छन् । 

बैठकमा नआउन, आइहाले ५–१० मिनेट बस्ने ओली शैलीलाई स्थायी कमिटी सदस्यहरू ओलीको राजनीतिक कलाका रूपमा अर्थ्याउन थालेका छन् । 

‘यो पनि एउटा तरिका हो । राजनीतिको कला हो । उहाँ नआउँदा खोजी त हुन्छ नै । ५–७ घण्टा बस्न सक्ने अवस्थामा छैनन् । त्यही भएर पनि आउनु हुन्न,’ ओलीनिकट एक स्थायी कमिटी सदस्य भन्छन् । 

स्थायी कमिटी सदस्यहरूको पनि आआफ्नै बुझाइ छ ओली बैठकमा नआउनुको । कसैले स्वास्थ्य अवस्था कमजोर भएकाले बैठकमा लामो समय बस्न नसकेर  नआएको बुझेका छन् भने कोही ओलीले आफूलाई सर्वेसर्वा ठान्ने प्रवृत्तिका कारण पार्टी कमिटी बैठकलाई नजरअन्दाज गरेको आरोप लगाउँछन् । 

स्थायी कमिटी सदस्य मणि थापा भन्छन्, ‘प्रचण्ड कार्यकारी अध्यक्ष भएपछि बैठकको हेण्डिल उहाँले नै गर्नुपर्छ भन्ने बुझाइ अध्यक्ष केपी कमरेडमा देखिन्छ । उहाँको स्वास्थ्य अवस्था पनि लामो समयसम्म बैठकमा बस्न सक्ने खालको छैन ।’

कतिपय नेता भने एक व्यक्ति एक पदको एजेण्डा सामना गर्न नसकेर ओली बैठकमा नआइरहेको दाबी गर्छन् । ओलीले २४ जेठको सचिवालय बैठक पनि बीचैमा छोडेर हिँडेका थिए । 

स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने भने कम्युनिस्ट पार्टी लेनिनवादी संगठनात्मक सिद्धान्तमा चल्ने बताउँदै कमिटीभन्दा ठूलो व्यक्ति नहुने तर्क गर्छन् । ‘व्यक्ति आयो आएन, ठूलो कुरा होइन, मूलतस् पार्टी संगठनात्मक संरचनामा हुनुपर्छ,’ उनी भन्छन् । 

ओली पार्टी कार्यालय धुम्बाराहीमा गत २९ मंसिरदेखि ६ पुससम्म बसेको स्थायी कमिटी बैठकमा पनि उपस्थित थिएनन् । त्यो बैठकको सबै जिम्मा प्रचण्डले लिएका थिए । अथवा प्रचण्डले नै सुरुवात गरेर विर्सजन गरेका थिए ।
 
२ वटा बैठकमा नआउँदैमा नेताहरूको चासोमा परेका ओली कार्यव्यस्तता, प्रचण्डमाथि भर परेर या स्वास्थ्य समस्याका कारण अनुपस्थित भएका हुन् भन्ने विषय भने खुलिसकेको छैन । 

बैठकका ७ वटा एजेण्डा भएका कारण अझै केही दिन बैठक जारी रहनेछ । पछिल्ला बैठकमा उनको उपस्थिति या अनुपस्थितिले पनि नेकपा स्थायी कमिटी बैठकमा ठूलो अर्थ राख्ने  नेताहरूको बुझाइ छ ।