Swornakshar Logo

उज्यालो आँखाले हेरौँः ओली, एकताको भावना कता रहेन पार्टीमाः प्रचण्ड

काठमाडौं । १० असार । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आफू पार्टीमा चौतर्फी घेराबन्दीमा परेको बताएका छन्।
आफु विरुद्ध पार्टीभित्र, बाहिरबाट घेरा बन्दी भएको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष ओली पहिला बोलेका थिए । उनले सधैँ पार्टीभित्रैबाट सरकारको आलोचना गर्ने परिपाटी बसेकोमा गुनासो गर्दै कामलाई उज्यालो आँखाले हेर्न आग्रह गरे । 

‘सरकारका कामको सधैँ अँध्यारो पक्ष मात्र हेर्नु भएन,’ ओलीको भनाइ उद्धृत गर्दै  एक जना स्थायी कमिटी सदस्यले भने, ‘उहाँ पहिला बोल्नुभयो । उहाँले सरकारको गुणगान मात्र गाउन थाल्नुभयो । उहाँले संसदमा बोल्नुभएको हो कि पार्टी बैठकमा ? अझ सरकारको काम उज्यालो आँखाले हेर्न भन्नुभयो ।’

ओलीले बैठकमा सधैँ भ्रष्टाचार गरेको मात्र देख्ने र राम्रा काम कसैले पनि नदेख्ने भन्दै असन्तुष्टि जनाएको उनको भनाइ छ । स्थायी कमिटी बैठकमा ओलीले अहिलेसम्म भएका कमीकमजोरीको जिम्मेवारी लिने बताएको एक स्थायी कमिटी सदस्यले बताए । 

बैठकमा ओली बोलिसकेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० बोलेका थिए । प्रचण्डले सुरुमै पार्टी एकताको भावनाअनुसार काम नभएको बताए । उनले सरकारका काम कारबाही सही तरिकाले नभएको बताए । 

उनले जनताले धेरै आशा र विश्वास गर्दा पनि पूरा गर्न नसकेको बताएको एक स्थायी कमिटी सदस्यले बताए । 

बैठकमा प्रचण्डको भनाइ उद्धृत गर्दै नेकपाका एक स्थायी कमिटी सदस्यले भने, ‘जनताले पार्टी एकता हुँदा धेरै आशा विश्वास गरेका थिए । तर, जनताको जनभावनाअनुसार काम भएन । जनता निराश छन् ।’ 

प्रचण्डले आदर्श भुल्दै गएको, जनताको पक्षमा काम गर्न नसकेको, पार्टी एकतर्फ र सरकार अर्कोतर्फ गएको बताएको ती स्थायी कमिटी सदस्यले बताए ।