यसरी हेर्दाहेर्दै सकियो सूर्यग्रहण (फोटो फिचर)
काठमाडौँ । ७ असार । आज असार कृष्ण औँसीका दिन आइतबार बिहान १०ः५५ बजेदेखि खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण २ः२३ बजेबाट पूरा भएको छ ।
बिहान १०ः५५ बजे स्पर्श भएको सूर्यग्रहण मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे मोक्ष प्राप्त गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले बताएको छ । सूर्यग्रहण हेर्ने अत्यन्त सुरक्षित तरिका सूर्यबिम्बको प्रतिबिम्ब बनाएर छाया हेर्नु हो ।
चश्मा लगाएर र टेलिस्कोपबाट विद्यार्थी र सर्वसाधारणले सूर्यग्रहण हेरेका थिए । नाङ्गो आँखाले सूर्य ग्रहण हेर्न हुँदैन । काठमाडौँमा विभिन्न ठाउँबाट सूर्यग्रहण हेर्ने व्यवस्था मिलाइएको थियो ।
ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरीमा र यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्: