Bagmati Samachar Logo

दुबै सदनबाट पारित संविधान संशोधन विधेयक राष्ट्रपतिबाट आजै प्रमाणित गरिने भएको छ

काठमाडौं ।४ असार । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको संविधान संसोधन दोश्रो विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले आजै प्रमाणित गर्ने भएकी छिन् । अतिक्रमित लिम्पियाधुरासहितको नेपालको सम्पूर्ण भूभाग समेटिएको नयाँ नक्सा आज राष्ट्रियसभाबाट दुई तिहाई बहुमतले पारित भएको छ । यसअघि प्रतिनिधिसभाबाट गत जेठ ३१ गते संविधानको धारा ९ को उपधारा २ अन्तर्गत अनुसूची ३ मा रहेको निशान छापभित्र नेपालको नयाँ नक्सा राख्ने प्रस्ताव पारित भएको थियो ।

राष्ट्रियसभाबाट विधेयक पारित भएसँगै यसबारेको जानकारी प्रतिनिधिसभामा पठाइएको संघीय संसदका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए । प्रतिनिधिसभामा राष्ट्रियसभाबाट विधेयक पारित भएको जानकारी गराइनेछ र सभामुख अग्नि सापकोटाले प्रमाणिकरण गर्नेछन् । त्यसपछि आजै राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति भण्डारीले विधेयक प्रमाणित गर्नेछिन् ।

भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानी समावेश गरी सरकारले नयाँ नक्सा जारी गरेको थियो । सो नक्सा नेपालको निशान छापमा समावेश गर्नका लागि संविधान संशोधनको प्रक्रियालाई अघि बढाएको थियो ।