Bagmati Samachar Logo

लिम्पियाधुरासहितको नयाँ नक्सा राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित

काठमाडौं । ४ असार । नक्सासम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित भएको छ ।

बिहीबार ५७ जना सदस्य उपस्थित भएकोमा उनीहरू सबैले संशोधनका पक्षमा मतदान गरेको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी गराए। राष्ट्रिय सभा ५९ सदस्यीय छ। तीमध्ये एक सिट अहिले रिक्त छ भने अध्यक्षले मतदान गर्दैनन्।

अध्यक्ष तिमल्सिनाले संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरेका छन् ।

विधेयक पारित हुनुअघि राष्ट्रिय सभामा रहेका दलका शीर्ष नेताहरुले विधेयकमाथि धारणा राखेका थिए भने

राष्ट्रिय सभामा संविधान संशोधन विधेयकमाथि कुनै संशोधन परेको थिएन ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको निशान छापमा रहेको नक्सा परिवर्तनका लागि सरकारले ल्याएको संशोधन विधेयक यसअघि प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भैसकेको छ ।

विधेयकमाथिको दफावार छलफलपछि कानुन न्याय तथा संसदीय मामलामन्त्री शिवमाया तुम्बाहाङ्फेले उक्त विधेयक पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

अब राष्ट्रिय सभाबाट समेत विधेयक पारित भएको सूचना प्रतिनिधिसभालाई दिनेछ । प्रतिनिधिसभाले राष्ट्रिय सभाबाट पनि विधेयक पारित भएको सन्देश सुनाएर प्रतिनिधि सभाले विधेयक सभाुमखबाट प्रमाणित गराएर प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनेछ ।

राष्ट्रपतिले प्रमाणिकरण गरेपछि नेपालको संविधानमा लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नयाँ निशान छापमा समेटिनेछ ।

सरकारले गत जेठ ७ गते लिम्पियाधुरासहितको क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो ।