जनता समाजवादी पार्टीले संविधान संशोधनको पक्षमा मतदान गर्ने भएको छ

जनता समाजवादी पार्टीले संविधान संशोधन गर्न संसदमा प्रस्तुत भएको विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । आज बसेको पदाधिकारीको बैठकले नेपालको संविधानको अनुसूची–३ संशोधन गर्न संसदमा प्रस्तुत विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
आज बालकुमारीस्थित नसपा पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले संशोधनको पक्षमा उभिने निर्णय गरेको हो ।
सोही पार्टीकी सांसद सरिता गिरीले भने सरकारी विधेयक खारेजीको माग गर्दै प्रस्ताव दर्ता गराएकी छन् । तर, जसपाले प्रस्ताव फिर्ता नलिए उनलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
गिरीले नेपालको नयाँ नक्साका विषयमा आपत्तिजनक र विवादित विचार राख्दै आएकी छन् । उनीमाथि कारबाही गर्न उनकै संसदीय दलले पत्र पठाएको छ ।
यता १९ जेठमा राजपा र समाजवादी पार्टीले नेपालको संविधान (दोस्रो संशोधन विधेयक) संघीय संसद् सचिवालयमा दर्ता गराएका थिए ।
२३ बुँदे विधेयकमा यसअघि संविधान निर्माणका बखतदेखि नै मधेस केन्द्रित दलहरूले उठाउँदै आएका विषय छन् । जसमा नागरिकता, भाषा, प्रदेशको सीमांकन हेरफेरका लागि आयोग गठन, राष्ट्रियसभाका लागि निर्वाचन प्रणालीमा संशोधनको प्रस्ताव रहेको छ ।
प्रतिक्रिया दिनुहोस्: