क्वारेन्टाइनमा बसेका सबैको पीसीआर गर्न सर्वोच्चको आदेश

काठमाडौं । १८ जेठ । सर्वोच्च अदालतले क्वारेन्टाइनमा बसेका सबैको पीसीआर गर्न आदेश दिएको छ । अदालतले कोरोना भाइरस संक्रमण फैलिने त्रास भएर क्वारेन्टाइनमा बसेका देशभरका नागरिकको अनिवार्य पीसीआर गर्न आदेश दिएको छ ।
अधिवक्ता पुण्यप्रसाद खतिवडालगायतले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र कुमार रेग्मीको इजलासले आज यस्तो आदेश जारी गरेको हो ।
इजलासले कोरोनाविरुद्ध अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई आवश्यक पर्ने पोशाक र स्वास्थ्य उपकरण निःशुल्क उपलव्ध गराउनसमेत सरकारलाई आदेश दिएको छ ।
क्वारेन्टाइनमा लामखुट्टेको जोखिम बढेको भन्दै यसको संक्रमणवाट जोगिने पर्याप्त प्रबन्ध गर्न पनि अदालतले भनेको छ ।
अदालतले क्वारेन्टाइनमा बसेका सबैलाई निःशुल्क खाना खुवाउन पनि भनेको छ । सरकारले विदेशबाट ल्याउन लागेका नागरिकलाई उनीहरुकै खर्चमा क्वारेन्टाइनमा राख्ने तयारी गरिरहेका बेला अदालतको यस्तो आदेश आएको हो ।
अदालतले कोरोना भाइरस संक्रमणको जोखिममा रहेका नागरिकलाई निःशुल्क सिटामोल, गुणस्तरीय मास्क र स्यानिटाइजरसमेत उपलव्ध गराउन सरकारको नाममा आदेश दिएको छ ।
प्रतिक्रिया दिनुहोस्: