Bagmati Samachar Logo

२० दिनपछि सार्वजनिक कार्यक्रममा देखिए किम

एजेन्सी
प्योङयाङ । २० वैशाख । उत्तर कोरियाका नेता किम जोङ उन २० दिनपछि सार्वजनिक कार्यक्रममा उपस्थित भएका छन्।

किमको स्वास्थ्यबारे फैलिरहेको अनेक हल्लाकाबीच उत्तर कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसीएनए)ले उनी सार्वजनिक कार्यक्रममा उपस्थित भएको जनाएको छ।

केसीएनएका अनुसार किम राजधानी प्योङयाङ नजिकै पर्ने सनचेनस्थित एक मल कारखाना निर्माण सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रममा शुक्रवार बहिनी किम यो जोङ र अन्य वरिष्ठ अधिकारीहरूसहित उपस्थित भएका हुन्।

रोडोङ सिन्मुन अखबारको आधिकारिक वेबसाइट मार्फत सार्वजनिक गरिएका फोटोहरुमा किमलाई हाँस्दै गरेको र रिबन काट्दै गरेको र समारोहमा सहयोगीहरूसँग कुरा गरिरहेको देख्न सकिन्छ।

शुक्रवार अघि किम सार्वजनिक रूपमा अन्तिमपटक अप्रिल ११ मा देखा परेका थिए। अप्रिल १५ मा आफ्ना हजुरबुबा तथा उत्तर कोरियाका संस्थापक किम इल सुङ को जन्मदिनको वार्षिकोत्सव समारोहमा उपस्थित नभएपछि किमको स्वास्थ्यलाई लिएर विभिन्न अड्कल काटिदैं आइएको थियो।

यस अवधिमा किमका कुनै पनि गतिविधिका तस्वीर प्रकाशित नभएपनि उनी नियमित गतिविधिहरूमा सक्रिय रहेको बताइएको छ।

सार्वजनिक रुपमा नदेखिएका किम यो अवधिमा सिरिया, क्युवा र दक्षिण अफ्रिकाका नेताहरूलाई अभिवादन पठाउने र तटवर्ती शहर वोनसनमा पर्यटक सुविधाको संरचना निर्माणमा खटिएका मजदुरहरूलाई धन्यवाद व्यक्त गर्ने जस्ता काममा सक्रिय रहेको उक्त संचारमाध्यमले जनाएको छ।