Bagmati Samachar Logo

‘हामीले कार, एम्बुलेन्स, घर र सडकमा समेत लास देख्यौंँ’

एजेन्सी ।
काठमाडौं । ७ वैशाख । इक्वेडरको ग्वायास इलाका कोरोना भाइरसको महामारीबाट सबैभन्दा प्रभावित क्षेत्रमा एक हो । जब सरकारी रेकर्डमा कोरोनाको महामारीबाट मृत्यु हुनेको संख्या जाँच गर्दै जाँदा एउटा कठोर वास्तविकता बाहिर आएको छ ।

ग्वायासमा अप्रिलको सुरुका २ सातामा ६ हजार ७ सय जनाको मृत्यु कोरोना भाइरसका कारण भएको पाइएको छ । ग्वायासमा मृत्यु हुने औसत संख्यामा यो तथ्याङ्क ५ हजारभन्दा बढी थियो ।

यसै कारण ग्वायास इक्वेडरको मात्र नभएर पूरै ल्याटिन अमेरिकाकै कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित इलाका बनेको छ । यो कोरोना भाइरसका कारण मात्र भएको मृत्यु होइन, महामारीका कारण यस क्षेत्रको स्वास्थ्य सुविधा नराम्ररी प्रभावित बन्यो । धेरै बिरामी अन्य स्वास्थ्य समस्याबाट ग्रस्त थिए । उनीहरूले अत्यावश्यक मेडिकल सामग्रीसमेत पाएनन् ।

ग्वायाक्विल, शवगृहको शहर
इक्वेडरको सबैभन्दा ठूलो शहर र ग्वायास क्षेत्रको राजधानी ग्वायाक्विलको शवगृहमा काम गर्ने कैटी मेजिया भन्छिन्, ‘हामीले कारमा, एम्बुलेन्समा, घरमा र सडकमा पनि मानिसका शवहरू देख्यौँ ।’

उनी भन्छिन्, ‘एउटा कारण भएका अस्पतालमा बेडहरू थिएनन् । यस कारण उनीहरूलाई भर्ना गर्नै सकिएन । यदि निजी क्लिनिकमा जाने हो भने नगदमा उनीहरूलाई पैसा बुझाउनुपर्थ्यो । यो सबैका लागि सम्भव हुने कुरा होइन ।’

२५ लाख जनसंख्या भएको यो शहर कोरोना भाइरसका कारण यसरी प्रभावित बन्यो कि शहरको शवगृह नै भरियो । शवगृहमा काम गर्ने कर्मचारी नै संक्रमण हुन सक्ने भन्दै डराए । यसका कारण केही शवगृह त बन्द नै गरियो ।

निराश र लाचार आफन्तले यस्तो अवस्थामा शवलाई घरको बाहिर छाडिदिए । केही शव त केही दिनसम्म यत्तिकै भए । ग्वायाक्विलको चिहानमा समेत शव राख्ने ठाउँको कमी भयो । अन्तित संस्कारका लागिसमेत मानिसहरूले नजिकै रहेको अर्को शहर छेउको चिहानमा लगे ।

मृतक व्यक्तिको अन्त्येष्टिका लागि कफिनको समेत समस्या भइरहेको छ । यहाँसम्म कि कतिपयले त कार्डबोर्डका समेत कफिन बनाइरहेका छन् । स्थानीय जेलमा रहेका कैदीलाई लकडीको कफिन बनाउने काममा लगाइएको छ ।

तथ्याङ्कको कथा
इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले देशको स्वास्थ्य प्रणाली आपतकालीन अवस्थालाई धान्नका लागि असफल भएको स्वीकार गरेका छन् ।

१६ अप्रिलसम्म इक्वेडर सरकारले कोरोना भाइरस केवल ४ सय मानिसमा संक्रमण भएको बताइरहेको थियो । तर, जब कोरोना भाइरसको सङ्कट समाधानका लागि संयुक्त टास्क फोर्सले सबै तथ्याङ्कको जाँच गरेर तथ्याङ्क बाहिर ल्यायो, यो निकै डरलाग्दो थियो ।

टास्क फोर्सका प्रमुख जर्ज वाटेडले भने, ‘गृह विभाग, शवगृह, सिभिल रजिस्ट्रार र हाम्रो टिमले जे तथ्याङ्क पायो, यसबाट स्पष्ट हुन्छ कि अप्रिलको पहिलो १५ दिनमा ग्वायासमा ६ हजार ७ सय ३ जनाको मृत्यु भएको थियो । यहाँ हरेक महिना औसतमा २ हजार मानिसको मृत्यु भइरहेको छ । यस कारण हामीसँग मृत्युको तथ्याङ्कमा ५ हजार ७ सय बढी थप भएको छ ।’

ग्वायसमा सबै मानिसको मृत्यु प्रत्यक्ष रूपमा कोरोना भाइरसका कारण नै भएको होइन । केही मानिसको हृदयघात भएको छ, केहीमा मिर्गौलाको समस्या थियो भने केही अन्य प्रकारको स्वास्थ्य समस्याको उपचार गरिरहेका थिए । उनीहरूको उपचारको अभावमा मृत्यु भएको हो ।

अन्य देशको अवस्था के होला ?
ग्वायासको जुन तस्बीर बाहिर आएको छ, यसले पूरै इलाकामा केही प्रश्न खडा गरेको छ । यसबाट ल्याटिन अमेरिकाका अन्य देशको अवस्था कस्तो होला भने अनुमानसमेत गर्न थालिएको छ । स्वास्थ्य सुविधा खराब भएको देशको अवस्था कस्तोसम्म हुन सक्छ ?

चीनको वुहान शहरमा जब मृत्यु हुनेको आधिकारिक तथ्याङ्कमा संशोधन गरियो, त्यसपछि यसबारे झनै शंका थपिदिएको छ । युरोपको सर्वाधिक प्रभावित देश स्पेनमा मृत्यु हुनेको तथ्याङ्क जसरी सङ्कलन गरिएको छ, त्यसमा पनि विरोधाभास पाइएको छ ।

ग्वायाक्विल शहरमा पेसाले डाक्टर रहेका कार्लोस मावयिनले भने, ‘इक्वेडरमा सरकारी स्वास्थ्य सुविधा सधैँ कमजोर रहँदै आयो । धेरैजसो सरकारको कमजोर नीति रह्यो ।’

डाक्टर कार्लोसले कोरोना भाइरसका लागि इक्वेडर सबैभन्दा कमजोर सिकार भएको बताए । उनी भन्छन्, ‘बिरामीको ठूलो संख्याले इक्वेडरको कमजोर स्वास्थ्य सुविधालाई पूरै धरासायी बनाइदियो ।’

इक्वेडरले रातको समयमा कर्फ्यूको समय बढाउँदै बढीभन्दा बढी परीक्षण गर्ने बताएको छ । तर, ग्वायाक्विलका जनताका लागि सरकारले चालेको यो ढिलो र निकै सानो कदम मात्र हुनेछ ।