चीनमा तीनवटा अमेरिकी सञ्चारगृहका पत्रकारलाई निष्कासन
५ चैत । काठमाडौं । चीनले तीन वटा अमेरिकी पत्रिकासँग आबद्ध पत्रकारहरूलाई आफ्नो मुलुकबाट निष्कासन गरेको छ । अमेरिकामा केही चिनियाँ सञ्चारमाध्यममाथि प्रतिबन्ध लगाइएपछि प्रत्युत्तरमा चीनले पनि अमेरिकी सञ्चारगृहका पत्रकारलाई निष्कासन गरेको हो ।
चिनियाँ विदेश मन्त्रालयले चीनमा उनीहरूको गतिविधिबारे पनि सूचना माग गर्दै द न्यूयोर्क टाइम्स, द वाशिङ्टन पोस्ट र द वाल स्ट्रीट जर्नलका पत्रकारहरूलाई उनीहरूसँग रहेको सञ्चारकर्मीको अनुमतिपत्र १० दिन भित्र फिर्ता गर्न पनि निर्देशन दिएको छ ।
चिनियाँ विदेश मन्त्रालयका अनुसार उक्त कदम अमेरिकामा चिनियाँ सञ्चारमाध्यममाथि लगाइएको अनावश्यक प्रतिबन्धहरूको प्रतिक्रिया भएको बताइएको छ ।
मन्त्रालयले ती अमेरिकी पत्रिकाका पत्रकारलाई चीनका अर्धस्वायत्त क्षेत्र हङ्कङ र मकाउमा समेत प्रतिबन्ध लगाएको छ । चीनमा भन्दा ती स्थानमा बढी प्रेस स्वतन्त्रता छ ।
यसै महिनाको आरम्भमा ट्रम्प प्रशासनले अमेरिकामा काम गर्ने चिनियाँ पत्रकारको सङ्ख्यामा सीमा तोकिदिएको थियो ।
केही समयदेखि अमेरिका र चीनको सम्बन्ध चिसिएको छ
अमेरिकाले जे गरेको छ त्यो चिनियाँ सञ्चारमाध्यमप्रति लक्षित छ र यो शीतयुद्धको मानसिकता अनि वैचारिक पूर्वाग्रहमा आधारित छ, मङ्गलवार चीनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चीनको निर्णयलाई दुर्भाग्यपूर्ण भन्दै बेइजिङलाई त्यसबारे पुनः विचार गर्न आग्रह गरेका छन् ।
मार्च महिनाको आरम्भमा अमेरिकाको विदेश मन्त्रालयले चिनियाँ समाचारसंस्था सिन्ह्वासहित पाँचवटा सञ्चारगृहलाई कर्मचारीको कुल सङ्ख्या १६० बाट घटाएर १०० मा पुर्याउन भनेको थियो ।
गत महिना कोरोनाभाइरस सङ्क्रमणको प्रकोपबारे लेखिएको सम्पादकीयका कारण चीनले द वाल स्ट्रिट जर्नलका दुई पत्रकारलाई निष्कासन गरेको थियो । त्यसको प्रतिक्रियास्वरूप अमेरिकाले चिनियाँ पत्रकारको सङ्ख्या तोकिदिएको ठानिएको थियो ।
केही समययता व्यापार, बौद्धिक सम्पत्तिको अधिकार र फाईभजी नेटवर्कजस्ता विषयमा चीन र अमेरिकाबीच विमति रहेको छ । त्यसबाट उनीहरूको सम्बन्ध चिसिएको छ ।
दुवै देशले एकअर्कालाई गलत सूचना फैलाएको आरोप लगाइरहेको अवस्थामा कोरोनाभाइरस सङ्क्रमणको महामारीले पनि तनाव थपेको छ ।
मङ्गलवार ट्रम्पले कोरोनाभाइरसलाई चिनियाँ भाइरस भनेपछि चिनियाँ पक्ष आक्रोशित भएको छ ।
प्रतिक्रिया दिनुहोस्: