Swornakshar Logo

कोरोनाविरुद्ध लड्न चीनीया विशेषज्ञ टोली इटाली प्रस्थान

२९ फागुन । काठमाडौं । बुधबार कोरोना भाइरसविरुद्ध लड्न चीनीया विशेषज्ञ एक टोली इटाली प्रस्थान गरेको छ । चीनले इटालीलाई सहयोग पुर्याउनका लागि एक चिकित्सा टोली पठाएको हो । चीनपछि कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश इटाली हो ।

सो टोली रेडक्रस सोसाइटी चीनका उपाध्याक्ष र चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्रका एक विशेषज्ञको नेतृत्वमा इटाली गएको हो । उक्त टोलीमा सिचुआन प्रान्तका अन्य पाँच विशेषज्ञहरु पनि छन् ।

अहिले इटालीमा १० हजारभन्दा बढी मानिसमा संक्रमण देखिइसकेको छ भने ६ सय ३१ को मृत्यु भइसकेको छ ।

इटालीका अधिकारीका अनुसार मंगलबारमात्रै १ सय ६८ जनाको मृत्यु भएको छ भने अहिलेसम्म १ हजार ४ जना मानिसहरु संक्रमणबाट निको भइसकेका छन् ।

प्रधानमन्त्री ग्युसेप कोन्टले नागरिकहरुलाई घरमै बस्न आग्रह गरेका छन् । सार्वजनिक यातायात बाहेक व्यायामशाला, सिनेमाघर, स्विमिङ पुल र विद्यालयहरु बन्द गरिएका छन् भने देशभर हुने खेलकुद प्रतियोगिता रोकिएका छन् ।

कोरोना भाइरस धेरै उमेर समूहका मानिसका लागि घातक देखिएको इटालीका आपतकालीन आयुक्त एन्गेलो बोरेलीले बताएका छन् । भाइरसबाट मृत्यु भएका धेरैजसो मानिसमा पहिलेदेखि नै स्वास्थ्य समस्या रहेको उनी बताउँछन् ।

मृत्गु हुनेमा ७७ प्रतिशत मृत्यु ७० देखि ८९ वर्षसम्मका छन्, १० प्रतिशत मानिस ५० देखि ६९ सम्मका रहेका छन् भने बाँकी ९० वर्षभन्दा माथिका रहेका छन् ।