Swornakshar Logo

नेपालबाट बिदा मनाएर अष्ट्रेलिया फर्किएका नेपाली विद्यार्थीमा कोरोना संक्रमण

२५ फागुन । काठमाडौं । फेब्रुअरी २६ तारिखमा नेपालबाट बिदा मनाएर अष्ट्रेलिया फर्किएका २० वर्षे एक विद्यार्थीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनको संक्रमणबारे पुष्टि गर्दै उनको आइसोलेसनमा राखेर उपचार भइरहेको अष्ट्रेलियाको तास्मानियास्थित स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

ती विद्यार्थी फेब्रुअरी २६ तारिखमा नेपालबाट सिंगापुर र सिड्नी हुँदै होबार्ट पुगेको अष्ट्रेलियाको स्थानीय समाचार एजेन्सी सेभेनन्यूज डट कम डट एयूले जानकारी दिएको छ ।

उनलाई फेब्रुअरी २७ तारिखमा रुघा खोकी लाग्दा देखिने लक्षण देखिएको तर उनले मार्च ६ मा मात्रै हेल्थ हटलाइनमा सम्पर्क गरेको बताइएको छ ।

उनको शुक्रबार रोयल होबार्ट अस्पतालमा परीक्षण गरिएको र उनलाई अलग राख्न (सेल्फ आइसोलेसन) आग्रह गरिएको भए पनि त्यसलाई उनले पालना नगरेको बताइन्छ ।

उनलाई कोरोनाको संक्रमण भएको शनिबार पुष्टि भएको र लगत्तै उनलाई आइसोलेसनमा राखिएको बताइन्छ ।

तास्मानियाका जनस्वास्थ्य सेवाका प्रमुख डा. मार्क भेइचले सेल्फ आइसोलेसनमा राख्न गरिएको सल्लाह बेवास्ता गर्नुलाई अस्विकार्य बताएका छन् । मैले यस्तो स्थितीमा तास्मानियाका सबै जनतालाई जिम्मेवार रहन आग्रह गर्दै आएको छु,’ उनले भने ।

अष्ट्रेलियन आइडल कलेजका विद्यार्थी उनी नेपालबाट फर्किएपछि दुई पटक कलेज गएको बताइन्छ । उनले पछिल्ला केही हप्तामा ग्रान्ड चान्सलर होटलमा पनि विभिन्न सिफ्टमा काम गरेका थिए ।

स्वास्थ्य अधिकारीले उनीसँगको नजिकको सम्पर्कमा आएका सह–कर्मीको पहिचान गर्ने प्रयासमा भएको बताएका छन् । यसका साथै उनीसँगै बस्ने चारजना र अन्य तीनजनालाई १४ दिनको क्वारेन्टाइनमा राखिएको छ ।

स्वास्थ्य अधिकारीहरुले उनी चढेर आएको जहाजको विस्तृत विवरण पनि लिने प्रयास भइरहेको बताएका छन् ।