Swornakshar Logo

चर्चित नायक अनमोल केसीविरुद्ध ठगीको आरोपमा उजुरी

१६ फागुन । काठमाडौं । चर्चित नायक अनमोल केसीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा ठगी गरेको अभियोगमा उजुरी परेको छ । केसीविरुद्ध फिल्मका निर्माता जयन श्रेष्ठ र रुपेश खड्कीले जाहेरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले पुष्टि गरे ।

नायक केसीले फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण हुन लागेको धूपौरे फिल्ममा खेल्न सहमति गरी ५ लाख एडभान्स समेत लिएपनि उनले नखेलेर ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको बताइएको छ ।

अभिनेता भुवन केसीका छोरा समेत रहेका केसीसँग श्रेष्ठ र खड्गीले गत असोज ३ गते ४० लाख पारिश्रमिक दिनेगरी सम्झौता गरेका थिए । यस्तै सम्झौताअनुसार ५ लाख अग्रिम भुक्तानी गरेपनि सम्झौताअनुसार केसीले फिल्म नखेलेर ठगी गरेको उजुरीमा उल्लेख छ ।

यस्तै फिल्म खेल्नका लागि ३ महिनासम्म जिम तथा एक्टिङ क्लासका लागि भन्दै अनमोलले आफूहरुको थप २ लाख ५० हजारसमेत सकेको उजुरीमा उल्लेख छ ।

यस्तै उनले फिल्मका लागि तय भएका अन्य कलाकार तथा टेक्नेसियनलाई समेत अग्रिम रकम ३० लाख दिन लगाइ उनी भने सम्पर्कमा नआएर आफूहरुलाई आर्थिक रुपमा क्षति पुर्याएको उजुरीमा उल्लेख छ । उजुरीमा केसीले हानी नोक्सानी पुर्याइ क्षति बिगो तथा कानुन बमोजिम क्षतिपूर्ति समेत दिलाइदिन माग गरिएको छ ।