Swornakshar Logo

जनयुद्ध दिवसः १९ जना माओवादीको हत्या भएको मनहरीमा श्रद्धाञ्जली सभा

१ फागुन । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरले तत्कालीन नेकपा माओवादीका १९ जना नेता कार्यकर्ताको हत्या भएको स्थल मनहरी गाउँपालिका २ भिमान पुगेर श्रद्धाञ्जली सभा गरेको छ ।
श्रद्धाञ्जलीमा नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य तथा बागमती प्रदेशकी सांसद कुमारी मोक्तान, प्रदेश कमिटी सदस्य बागमती प्रदेशका सांसद ओमबहादुर ग्लान (प्रदीप), जिल्ला सचिव एबम् बागमती प्रदेशका सांसद प्रेमबहादुर पुलामी छिन्तु, संविधानसभा सदस्य राजाराम स्याङ्तान, नेकपाका नेता बद्रीप्रसाद लम्साल लगायतको सहभागिता रहेको थियो ।

२०६० साल माघ २२ गते राति तत्कालीन शाही नेपाली सेनाले तत्कालीन बिद्रोही माओवादीका कमाण्डर कृष्णबहादुर तिरुवा (मुक्ति), बासु लम्साल (विकास), बीरबहादुुर थोकर, लक्ष्मी आपागाई, गीता विक, किरण बर्तौला, हिरा मुक्तान, राजकुमार घलान, सुकुमाया बल, तेजनारायण पाण्डे (राजु), हीरा सुवेदी लगायतका कार्यकर्ताको गोली हानेर हत्या गरेको थियो ।

हत्यापछि उनीहरुको शवलाई घरनजिकैको खोल्चामा जथाभावी रुपमा फालिदिएका थिए । सेनाले स्थानीय हिरालाल बलको घरमा बास बसेका माओवादीमाथि आक्रमण गर्दा बलकी ८० बर्षीया आमाको समेत मृत्यु भएको थियो । नेताहरु नेकपा माओवादीको एरिया कमिटीको बैठक सकेर स्थानीय हीरालाल बलको घरमा सुतेका थिए ।

२५ औँ जनयुद्ध दिवसको अबसरमा हिरालालको घरमा आयोजना भएको श्रद्धान्जली सभामा बोल्दै नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य तथा बागमती प्रदेशका सांसद कुमारी मोक्तानले सहिदहरुको बलिदानीले नै गणतन्त्र प्राप्त भएको भन्दै उहाँहरुलाई बिर्सन नहुने बताए । कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य तथा बागमती प्रदेश सभा सदस्य ओमबहादुर ग्लान (प्रदीप), संविधानसभा सदस्य राजाराम स्याङ्तान, नेकपाका नेता बद्री लम्साल, मनहरी २ नं वडाध्यक्ष बीरबहादुर घलान लगायतले श्रद्धान्जलि व्यक्त गरेका थिए । कार्यक्रममा नेकपाका सचिव तथा बागमती प्रदेश सभाका सदस्य प्रेमबहादुर पुलामी, प्रदेश सल्लाहकार रामहरि सुवेदी लगायतकाको सहभागिता रहेको थियो ।

तत्कालीन हत्याको घटना सम्झेर अहिले पनि स्थानीयबासिन्दा झस्कन्छन् । गाउँ नै दुर्गन्ध हुनेगरी मानिसका शव कुहिएको तत्कालीन अबस्थामा अधिकाँश गाउँलेहरुले महिनौसम्म गाउँ छाडेका थिए ।