Swornakshar Logo

शनिबार चीनबाट नेपाली नागरिक ल्याइँदै, विमानस्थल १२ घण्टा अवरुद्ध हुने

चीनमा रहेका नेपाली ल्याइने दिन फागुन ३ गते शनिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कम्तीमा १२ घण्टा अवरुद्ध हुने भएकाे छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तोकेको मापदण्डबमोजिम संक्रमित स्थानबाट ल्याइने जहाज अवतरणका बेला ‘एयरक्राफ्ट डिसइन्फेक्सन’ गर्नुपर्ने हुन्छ। त्यसैका लागि विमानस्थल कम्तीमा १२ घण्टा अवरुद्ध हुने भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले यसको पूर्वतयारी गरेको छ।

स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालका अनुसार सरकारले ‘जहाजबाट यात्रुलाई कसरी ओराल्ने ? पहिलो परीक्षण कसरी र कहाँ गर्ने ? त्यहाँबाट क्वारेन्टाइनमा लगेपछि कसरी राख्ने आदी विषयमा पूर्व तयारी गरिसकेको छ । साथै विमानस्थलमा कार्यरत कर्मचारीले कार्यस्थलमा मास्क, पञ्जा, आवश्यकताअनुसार अन्य स्वास्थ्य सावधानीका उपाय अवलम्बन गर्ने छन् ।

सचिव बरालका अनुसार चीनबाट नेपाल ल्याउने यात्रुको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गरी संक्रमित यात्रुलाई उपत्यकाका तोकिएका अस्पतालहरुमा आइसोलेशन वार्डमा राखेर उपचार गर्ने व्यवस्था गरेको छ ।

कोरोना भाइरसको इपीसेन्टर मानिएको चीनको वुहान लगायत अन्य सहरमा उद्दारको पर्खाइमा रहेका करिब १८० जना नेपालीहरुलाई सरकारले उद्धार गर्ने भएको हो । वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपालीहरु छन् ।

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट हालसम्म १ हजार बढीले ज्यान गुमाइसकेका छन् ।